काठमाडौं । गत सिजन तेस्रो स्थानमा रहेर नेपाल प्रिमियर लिग समाप्त गरे पनि एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएपछि चितवन राइनोजको च्याम्पियन बन्ने लक्ष्य पूरा हुन सकेको थिएन ।
तर यस पटक भने रिटेन गरेका र अक्सनमार्फत् खरिद गरिएका खेलाडीलाई हेर्दा कप्तान कुशल मल्लको आक्रामक नेतृत्वको चितवन राइनोजमा अनुभवी र युवा खेलाडीको सन्तुलन देखिएको छ ।
फास्ट बलिङ र ब्याटिङ दुवै पक्षमा टिम मजबुत देखिँदा मध्यक्रममा कुशलसँग साझेदारी गर्ने खेलाडीको कमी छ। विदेशी खेलाडी छनोट गर्दा टोलीले स्पिन आक्रमणलाई पनि ध्यान दिनुपर्ने छ ।
चितवन राइनोजले नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि प्रारम्भमा आफ्ना प्रमुख खेलाडीलाई रिटेन गर्ने निर्णय गर्यो ।
कप्तान कुशल मल्लसँगै रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसीजस्ता खेलाडी बलियो घरेलु आधारको रूपमा टोलीमा छन् । यी खेलाडीले टोलीलाई अनुभवसहित घरेलु खेलाडीको आधार पनि मजबुत बनाएका छन् ।
चितवनले अक्सनमार्फत् पाँच नयाँ खेलाडी अनुबन्ध गरेको छ । टप-अर्डर ब्याटर देव खनाललाई १५ लाख रुपैयाँमा अनुबन्ध गरेको चितवनका लागि उनले ओपनिङमा एङ्करको भूमिका निभाउने छन् । विकेटकिपर ब्याटर अर्जुन साउद पनि १५ लाख रुपैयाँमा टिममा भित्रिएका छन् । 'बी' श्रेणीमा रहेका विपिन रावलले विकेट किपिङमा विकल्प दिनेछन् । उनले बायाँ हाते ब्याटरको रूपमा पनि योगदान दिन सक्नेछन् ।
'सी' श्रेणीका विपिन आचार्य र रणजीत कुमार स्पिन विभागको हिस्सा बन्ने सम्भावना राख्छन् । यसरी पाँच खेलाडी अनुबन्ध गर्दा टोलीले ३९ लाख रुपैयाँ खर्च गर्यो । अब ऊसँग १९ लाख रुपैयाँ बाँकी छ ।
बलिङतर्फ टिममा रिजन ढकाल, कमलसिंह ऐरी, अमरसिंह राउटेला र गौतम केसीजस्ता अनुभवी फास्ट बलर छन् । उनीहरूको गति, नियन्त्रण र विविधताले टिमको फास्ट बलिङ आक्रमणलाई मजबुत बनाएको छ । स्पिन विभागमा रणजीत कुमार र विपिन आचार्यले योगदान दिनेछन् । यद्यपि दुवैको अनुभव कम छ । त्यही कारण टोलीले विदेशी स्पिनर भित्र्याउनुपर्ने आवश्यकता छ ।
मध्यक्रममा कुशल मल्ललाई साझेदारीकर्ताको आवश्यकता छ । ठूलो लक्ष्य पछ्याउने वा अन्तिम ओभरमा छिटो रन निकाल्ने पावर-हिटर टिमको प्राथमिकतामा पर्ने छ । यदि टोलीले विदेशी बजारबाट चार खेलाडी भित्र्याउने अवसरलाई सही तरिकाले उपयोग गर्यो भने आक्रामक ओपनर, मिडल-अर्डर पावर-हिटर, अनुभवी स्पिनर र सम्भव भए लेग सिपनर अलराउण्डर खेलाडी भित्र्याएर टिमको प्रत्येक विभागमा गहिराइ थप्न सक्नेछ ।
एनपीएलको नियमअनुसार हरेक फ्रेन्चाइजले ट्यालेन्ट हन्टमार्फत् नयाँ प्रतिभा भित्र्याउन पाउँछ । चितवनले यो अवसरलाई उपयोग गर्दै घरेलु प्रतिभालाई पनि टोलीमा समावेश गर्न सक्छ ।
समग्रमा, चितवन राइनोजको टिममा आक्रामक नेतृत्व, बलियो फास्ट बलिङ आक्रमण र पर्याप्त विकेट किपिङ विकल्प छन् । विदेशी खेलाडीको सही छनोट र ट्यालेन्ट हन्टमार्फत् नयाँ प्रतिभा भित्र्याएमा चितवन राइनोज एनपीएल २०२५ को प्रमुख दाबेदार बन्नेछ ।