एनटीए लिग २०२५ : भदौ १२ देखि १५ गतेसम्म आयाेजना हुने

१,४९५ खेलाडीको सहभागिता हुने
भाद्र १०, २०८२ |खेल ब्युरो
एनटीए लिग २०२५ : भदौ १२ देखि १५ गतेसम्म आयाेजना हुने

काठमाडौं । नेपाली तेक्वान्दोको रेङ्किङ प्रतियोगिता एनटीए लिग-२०२५ क्योरूगी र पुम्से भदौ १२ गतेदेखि १५ गतेसम्म हुने भएको छ । 

आयोजक नेपाल तेक्वान्दो संघले सातदोबाटोस्थित संघको एकेडेमीमा प्रतियोगिता हुने जानकारी दिएको हो । संघले मंगलबार पत्रकार सम्मेलन गरी खेलाडी वरियताक्रमको मान्यता प्राप्त लिगमा देशभरबाट १ हजार ४ सय ९५ खेलाडी सहभागि हुने जानकारी दिएको हो । 

प्रतियोगितामा ५ सय ४५ महिला तथा ९ सय ५० पुरूष खेलाडी सहभागी हुने छन् । चार दिन सञ्चालन हुने प्रतियोगितामा क्योरूगी तथा पुम्से गरी जम्मा ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। 

प्रतोयोगितामा सहभागि हुने खर्च खेलाडीले नै ब्यहोर्नुपर्ने छ। लिगको पहिलो, दोस्रो र तेस्रो हुनेले नेपाली राष्ट्रिय टिमका खेलाडीसँग प्रतिस्पर्धा गर्न पाउनेछन्। ती खेलाडीको प्रतिस्पर्धाले राष्ट्रिय टिममा पुग्ने अवसर हुनेछ। 

प्रतियोगितामा देशका शीर्ष २० खेलाडीले भने प्रतिस्पर्धा गर्न पाउने छैनन् । त्यसमा मिसन २०२६ को अभ्यासमा रहेका खेलाडी पनि रहेका छन् । यसअघि आयोजना हुने प्रतियोगितामा केही खेलाडीलाई संघले सहभागी हुन रोक्दै आएको थियो । तर यो वर्ष सहभागि बन्न चाहने सबैलाई समान अवसर प्रदान गर्ने प्रतियोगिताका संयोजक भानु चन्दले बताएका छन् ।

तेक्वान्दो संघले वर्षमा दुई वटा प्रतियोगिता आयाजना गर्छ। एउटा लिग र अर्को च्याम्पियनसिप । लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले च्याम्पियनसिपमा पनि खेल्ने अवसर पाउनेछन् । 

नव उदीयमान र प्रतिभाशाली खेलाडीको पहिचान र खोजी गरी आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने उत्कृष्ट खेलाडी छनोट गर्ने उद्देश्य यो प्रतियोगिताको छ।