काठमाडौं । नेकपा एमालेको यही भदौ २० गतेदेखि हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा समेट्ने विषयमा देशभरबाट मिश्रित प्रतिक्रिया आएपछि पार्टीमा पेचिलो बनेको छ ।
उपाध्यक्ष विष्णु पौडेलले पेस गर्ने विधान संशोधन प्रस्तावमा समेट्नुपर्ने विषयको सुझाव दिन मस्यौदा बनाएर एमालेले प्रदेश र स्थानीय तहसम्म पठाएको थियो । तर फरक-फरक सुझाव आएको र त्यसलाई केलाउनुपर्ने भन्दै एमालेले भदौ १३ गतेका लागि बोलाएको केन्द्रीय कमिटीको बैठक पनि स्थगित भएको छ ।
विधान मस्यौदा गर्दा नै ७० वर्षे उमेर हद र अध्यक्ष २ कार्यकाल हटाउने प्रस्ताव विवादमा परेको थियो । यसैबीचमा पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्कन हुने र नहुनेको विवाद सुरू भयो । यि सबैको असर विधान संशोधन प्रस्तावमा मागिएको सुझावमा परेको छ ।
विधान महाधिवेशनमा उपाध्यक्ष विष्णु पौडेलले पेस गर्ने विधान संशोधन प्रस्तावमा सबैभन्दा पेचिलो मानिएको ७० वर्षे उमेर हद र अध्यक्षमा दुई कार्यकालको व्यवस्था हटाउने विषयमा मिश्रित सुझाव आएका छन् ।
कतिपय कमिटीले प्रदेश र जिल्ला कमिटीको नेतृत्वको जिम्मेवारीको हैसियत पनि तोकेर जानुपर्ने सुझाव दिएका छन् । तर अधिकांश कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा नफर्कि अभिभावककै भूमिकामा बस्न सुझाव दिएका छन् । केहीले भने पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन रोक्नु जनताको बहुदलीय जनवादविरूद्ध हुने बताएका छन् ।
मधेश प्रदेश कमिटीले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन नहुने स्पष्ट सुझाव दिएको छ । यो कमिटीले विधानमा ७० वर्षे उमेर हद र अध्यक्षको दुई कार्यकाललाई हटाउने मस्यौदाको प्रावधानलाई निरन्तरता दिनुपर्ने निष्कर्षसहितको सुझाव दिएको छ ।
मोरङ जिल्ला कमिटीले भने राष्ट्रपति सक्रिय राजनीतिमा आउने/नआउने र ७० वर्षे उमेर हदको विषयमा पनि मिश्रित सुझाव आएको भन्दै त्यही अनुसारको लेखेर केन्द्रमा पठाएको छ ।
भोजपुर जिल्ला कमिटीले केन्द्रीय पदाधिकारीको संख्या १९ कायम गरी नेतृत्व विकास गर्दै कुनै पनि पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने गरी विधानमै व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।
एमालेले मातहातका पार्टी कमिटीबाट विधान संशोधन प्रस्तावमाथि सुझाव आउने क्रम जारी रहेको भन्दै संकलन गरिएका सुझावलाई एकीकृत गरी केन्द्रीय कमिटीको बैठकबाट पारित गरेर विधान महाधिवेशन पेस गर्ने जनाएको छ ।
एमालेले विधानको मस्यौदामा अध्यक्षसहित केन्द्रमा १५ पदाधिकारी रहने र २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो । यसअघि ७० वर्षे उमेर हद र अध्यक्ष २ कार्यकालभन्दा बढी हुन नपाउने प्रावधान हटाएर बनाइएको मस्यौदामा सुझाव दिन भदौ १० गतेसम्मको समय दिइएको थियो ।
फरक-फरक सुझाव आएपछि यसलाई मिलाउन एमाले नेतृत्वलाई हम्मेहम्मे हुने भएको छ । एमालेको विधान महाधिवेशन भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदाबरीमा बस्ने छ ।