काठमाडौं । सर्वोच्च अदालते महाशिवरात्री पर्वमा नागा बाबाहरू निर्वस्त्र बस्ने परम्परालाई अश्लीलता प्रदर्शन भनी टिप्पणी गर्न नमिल्ने व्याख्या गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले पशुपतिमा शिवरात्रीमा आउने नागा बाबाको गतिविधि नियन्त्रण माग गर्दै दायर गरिएको रिटमा व्याख्या गर्दै सर्वोच्चले नग्नता र अश्लीलताको व्याख्या सापेक्ष हुने व्याख्या गरेको हो ।
शिवरात्रीका अवसरमा पशुपति क्षेत्रमा नागा बाबाको चर्तिकला प्रदर्शन रोक लगाउन माग गर्दै २८ माघ २०७४ मा रिट दायर भएको थियो । रिट निवेदनमा नागा बाबाहरू सार्वजनिक स्थलमा निर्वस्त्र बस्नु, शरीरको खरानी महिला तथा बालबालिकालाई लगाइदिनु र अन्य क्रियाकलापले अश्लीलता प्रदर्शन भएको, महिला तथा बालबालिकामाथि यौनजन्य हिंसा र नकारात्मक मनोवैज्ञानिक असर परेको दाबी गरिएको थियो ।
सर्वोच्चले २७ भदौ २०८१ मा रिट खारेज हुने गरी सुनाएको फैसलाको पूर्णपाठमा पशुपतिभित्र नागा बाबाहरूको उपस्थिति सनातन धर्म र हिन्दू धार्मिक संस्कृतिअनुकूल भएको व्याख्या गरेको छ ।
नेपालको संविधानले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणसहितको धार्मिक स्वतन्त्रताको हक सुनिश्चित गरेको भन्दै अदालतले नागा साधुहरूलाई पशुपति परिसरमा प्रवेश निषेध गर्दा उनीहरूको धार्मिक अभ्यासमा हस्तक्षेप हुन जाने आदेशमा उल्लेख छ ।