अस्ट्रेलियन क्रिकेट टेरिटरी-एसीटीविरूद्ध दुई अभ्यास खेलमा नेपाल विजयी

पहिलो खेलमा ४१ रन र दोस्रोमा ६ विकेटले हराउन सफल
भाद्र १०, २०८२ |खेल ब्युरो
अस्ट्रेलियन क्रिकेट टेरिटरी-एसीटीविरूद्ध दुई अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । नेपालले मंगलबार अस्ट्रेलियन क्रिकेट टेरिटरी-एसीटीविरूद्ध दुई अभ्यास खेल खेल्दै दुबैमा जित हात पारेको छ । 

पहिलो खेलमा नेपाल ४१ रनले विजयी भयो भने दोस्रो खेलमासमेत उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीलाई ६ विकेटले पराजित गरेको हो । पहिलो अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ८ विकेट गुमाएर १ सय ७७ रन बनायो । 

यो खेलमा ओपनर आसिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गरेका थिए । उनले ३९ बलमा ५ छक्का र ४ चौकासहित ६९ रन बनाए । कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ र दीपेन्द्रसिंह ऐरीले २१ रन जोडे ।

नेपालविरूद्ध इभान्स, दुवे र सहमानले समान दुई-दुई विकेट लिएका थिए । जवाफमा १ सय ७८ रनको लक्ष्य पछ्याएको एसीटी १७ दशमलव २ ओभरमै १ सय ३६ रनमा समेटियो । 

जे स्मिथले अर्धशतक बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन्। अन्तिममा के ब्रुनकरले २७ रनको योगदान गरेको भए पनि एसीटी जितको नजिकसम्म पनि पुग्न सकेन। 

बलिङमा नेपालका लागि करण केसीले पहिलो ओभरमा दुई विकेट लिए । सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिएर विपक्षी टोलीलाई झनै दबाबमा पारे । दोस्रो अभ्यास खेलमा एसीटीविरूद्ध नेपाल ६ विकेटले विजयी भयो । 

एसीटीले प्रस्तुत गरेको ९७ रनको लक्ष्य नेपालले १३ दशमवल २ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । ब्याटिङको निम्तो पाएको एसीटी १७ दशमलव २ ओभरमा ९६ रनमै समेटियो । 

उसका एन ब्राजले सर्वाधिक १६ रन बनाएका थिए। बाँकी खेलाडी पनि सस्तैमा समेटिए । यसक्रममा नेपालका दीपेन्द्र र शाहब आलमले समान चार विकेट लिएका थिए । 

जवाफमा नेपालले सहज खेल प्रस्तुत गरेका जित निकालेको हो। दीपेन्द्रले अविजित ४२, गुल्सन झाले २३ र आरिफ शेखले अविजित ११ रन बनाए । एसीटीका लागि इसाम रहमानले दुई तथा लुइस इभन्स र देव दुवेले समान एक विकेट लिए ।