ईपीएल : न्यूकासल र लिभरपुलबीच आज राति रोमाञ्चक भिडन्त

भाद्र ९, २०८२ |खेल ब्युरो
ईपीएल : न्यूकासल र लिभरपुलबीच आज राति रोमाञ्चक भिडन्त

काठमाडौं । इङ्लिस प्रिमियर लिग-ईपीइलअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा साेमबार राति न्यूकासलले डिफेन्डिङ च्याम्पियन लिभरपुललाई घरेलु मैदानमा स्वागत गर्नेछ। 

यो खेल गत सिजनको लिग विजेता र इएफएल कप विजेताबीचको हुनेछ। साथै लिगको सुरूआतमा निकै प्रतिक्षा गरिएको खेलसमेत रहेको छ । स्वीडिस स्ट्राइकर अलेक्जान्डर इसाकको ट्रान्सफर विवादले साेमबार राति हुने प्रिमियर लिगको खेललाई चासोपूर्ण बनाएको छ। 

इसाकले आफ्नै क्लब न्यूक्यासलसँग असन्तुष्टि जनाउँदै आएका छन् । उनले क्लब छोड्न चाहेको भए पनि क्लबले भने यस विन्डोमा उनलाई बेच्ने कुनै सम्झौता नभएको बताउँदै आएको छ। 

लिगको पहिलो चरणमा प्रशिक्षक एडी हाउले इसाकको अनुपस्थितिमा टिमको आक्रमणमा विकल्प खोजे पनि एस्टन भिल्लाविरूद्ध गोलरहित रह्यो। उसले लगातार तीन खेलमा गोल गर्न सकेको छैन। 

आज रातिको खेल न्यूकासलका लागि पुनरागमन र नयाँ रणनीतिको परीक्षणसमेत हुनेछ। सिजनको पहिलो खेलमै लिभरपुलले आक्रामक प्रदर्शन गरेर बर्नमथलाई ४-२ ले हराएको छ। उसको लागि यो पुनरागमन जित निकै सानदार सुरूआत रह्यो। नव आगन्तुक खेलाडी हुगो एकिटिकेको डेब्यू गोल भएको थियो ।

अर्ने स्लटको टोलीले पछिल्लो चार खेलको जितविहीन यात्रा तोड्दै जित निकाले पनि रक्षात्मक कमजोरी अझै उस्तै देखिएको छ। पछिल्ला १० प्रतिस्पर्धात्मक खेलमध्ये लिभरपुलले केवल एक खेलमै मात्र क्लिनसिट राखेको छ। 

यद्यपि आज राति गोल गर्न सके, लिभरपुलले लगातार ३६ खेलमा गोल गरेको कीर्तिमान बराबरी गर्नेछन्। यी दुईबीच भएको गत सिजनको ईएफएल कप फाइनलमा न्यूक्यासल विजयी भए पनि प्रिमियर लिगमा भने न्यूकासलले लिभरपुलविरूद्ध पछिल्ला १७ खेलमा जित निकाल्न सकेका छैनन्। 

यसपटक घरेलु मैदानमा नै खेल हुने भए पनि च्याम्पियनलाई रोक्न कठिन हुने अनुमान गरिएको छ। यो खेलको प्रत्यक्ष प्रसारण राति पौने १ बजे कान्तिपुर म्याक्सबाट हुनेछ।