एन्फा महिला लिग छनोटमा आरएस क्लबकाे फराकिलाे जित

भाद्र ९, २०८२ |खेल ब्युरो
एन्फा महिला लिग छनोटमा आरएस क्लबकाे फराकिलाे जित

काठमाडौं । एन्फा महिला लिग छनोटअन्तर्गत आरएस क्लब र सिन्धुपाल्चोकबीचको खेल अहिलेसम्मकै सर्वाधिक गोल भएको खेल बनेको छ। कुल ११ गोल भएको खेलमा आरएसले ८-३ को जित हात पारेको छ।

समूह 'ए' अन्तर्गतको यो खेलको सातौं मिनेटमै सिन्धुपाल्चोकका लागि अनु भुषालले गोल गरेकी थिइन्। त्यसैगरी खेलको १२औं मिनेटमै इशा चौधरीले गोल फर्काए पछि खेल १-१ गोलको बारबरीमा पुगेको थियो। 

खेलको ३२औं मिनेटमा आरएसले पेनाल्टी पायो। पेनाल्टीमा सलिना सरूले गोल गरे पछि आरएसले लगातार अग्रता बनायो। ३९औं मिनेटमा सरिता विकेले गोल गरिन् भने पहिलो हाफको अन्तिम मिनेटमा सिन्धुपाल्चोकका लागि मिन्जल लामाले एक गोल गरिन्। 

यससँगै पहिलो हाफमा आरएस ३-२ गोलले अघि थियो। दोस्रो हाफमा इशाले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्। सरिताले ७० र ८५औं मिनेटमा गोल गरेर ह्याट्रिक पुरा गरिन्। 

उनले ८८औं मिनेटमा र तुलसीले इन्जयुरी समयमा गोल गरेर खेल ८-३ मा समाप्त गरेकी हुन्। यो जितसँगै, आरएसले तीन खेलमा ६ अंक जोडेको छ। सात अंकका साथ छहारी युवा क्लब शीर्षस्थानमा छ। सिन्धुपाल्चोकको भने यो लगातार तेस्रो हार हो।

एन्फा महिला लिगअन्तर्गत आजको दोस्रो खेलमा लम्की फुटबल र एनएमबी पोखरा गर्लसले गोलरहित बराबरी खेलेका छन्। जारी छनोटमा यी दुवै टिमले पहिलो एक एक अंक जोडेका हुन्। यी दुवै टिम यसअघिका खेलमा पराजित भएका थिए।