काठमाडौं । वीरगञ्जमा फैलिएको हैजा र यसले निम्त्याएको जनस्वास्थ्य संङ्कटसँग जुझ्न तीनै तहका सरकार लागेका छन् । तर अहिलेसम्म स्रोत पत्ता लाग्न सकेको छैन ।
हैजाको संक्रमण देखिनु जनस्वास्थ्यको हिसाबले निकै घातक हो । वीरगञ्जमा प्रकोपको रूप लिएको हैजा केहि दिनमै नियन्त्रण गर्ने दाबी सरकारको छ ।
वीरगञ्जमा फैलिएको हैजा संक्रमणको स्रोत पत्ता लाग्न सकेको छैन । वीरगञ्जबाट संकलन गरेर काठमाडौं ल्याइएका १० मध्ये ८ जनाको दिसाको नमूना काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा सबैमा हैजा पुष्टि भएको छ ।
बाँकी २ को परीक्षणको नतिजा बुधबार आउने प्रयोगशालाले जनाएको छ । दिसामा हुने भिभ्रिओ कोलेरा भन्ने जिवाणु पानी वा खानाको माध्यमबाट शरीरमा प्रवेश गरेमा मानिसलाई हैजा संक्रमण हुन्छ ।
जनस्वास्थ्यको हिसाबले हैजाको संक्रमण देखिनु निकै नै घातक मानिन्छ । नेपालका विभिन्न जिल्लामा हरेक वर्ष हैजा संक्रमण देखिने गरेको छ । यो वर्ष वीरगन्जबाहेक काठमाडौं र अछाममा पनि एक-एक जनामा संक्रमण देखिइसकेको छ ।
वीरगञ्जमा भने समुदायमा नै संक्रमण फैलिएको हो । यसले स्थानीय तहदेखि संघीय सरकारसम्मलाई झस्काएको छ । तीनै तहका सरकारले मिलेर काम गरिरहेकाले केहि दिनमै नियन्त्रणमा ल्याउने दाबी स्वास्थ्य मन्त्रालयले गरेको छ ।
स्वास्थ्य मन्त्रालय सचिव डा. विकास देवकोटाले भन्नुभयाे, “तीनै तहका सरकारले फोकस गरेर काम गरिरहेका छन्, औषधि-लजिस्टिकमा कुनै कमी छैन। नारायणी अस्पतालको समस्या समाधान भइसकेको छ। दुई-तीन दिनमै नियन्त्रणमा आउने विश्वास छ।”
जनस्वास्थ्यविद्हरूका अनुसार हैजा फैलिन नदिन व्यक्ति, समूदाय र सरकारसम्मै सतर्क हुनु जरूरी छ । अहिले वीरगञ्जमा फैलिएको प्रकोप पानी, खानालगायतका माध्यमले अन्य स्थानमा पनि सर्न सक्ने हुँदा मानिसहरूको आवतजावतमै कडाइ गर्नुपर्ने जनस्वास्थ्यविद्को भनाइ छ ।
जनस्वास्थ्यविद् डा. मुनिराज क्षेत्रीले भन्नुभयाे, “हैजा जनस्वास्थ्य समस्या हो, बेलैमा नियन्त्रण नगरे भयावह हुन सक्छ। सुरक्षित पानी, सरसफाइ, जनचेतना र केही ट्राभल रेस्ट्रिक्सनले नियन्त्रण सम्भव छ।”
हैजाकै कारण वीरगन्जमा ३ जनाको मृत्यु भइसकेको छ । अस्पतालमा अझै बिरामी आउने क्रम जारी छ । प्रकोप फैलिएको स्थान भएकाले कसैलाई झाडापखालाजन्य समस्या देखिएमा तत्काल अस्पताल पुग्नुपर्ने चिकित्सकहरूले सुझाएका छन् । समयमै उपचार नपाएमा हैजाका कारण मानिसको ज्यानै जान सक्छ ।