रामेछाप । धान, मकै, कोदो जस्ता बालीले वर्ष दिन मेहनत गरे पनि खर्च धान्न गाह्रो हुन थालेपछि किसानहरू नगदे खेतीतर्फ लाग्न थालेका छन । किसान नगदेबालीतिर लागेपछि गाउँघरमा रोजगारी र आम्दानी पनी बढेको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका-५ पकरबासका किशोर पौडेल डेरी व्यवसायसँगै अकबरे खुर्सानी खेतीमासमेत सक्रिय हुनुहुन्छ । डेरीमै व्यस्त हुने उहाँले फुर्सदको समय खेतीमा खर्च गर्दै आउनुभएको छ । मर्चिङ प्रविधिमा गरिएको खेतीबाट उत्पादन राम्रो हुने र बजार मूल्य पनि आकर्षक हुने भएकाले खुर्सानी रोजिएको उहाँको भनाइ छ ।
मन्थली नगरपालिका-५ का युवा भरत कार्कीले २० रोपनी जमिनमा कागती खेती गर्नुभएको छ । धान, मकैजस्ता बाली लगाउँदा उत्पादन कम हुने र बाँदर लगायतका बन्यजन्तुले बाली नष्ट गर्ने समस्या भएपछि उहाँले कागती खेती रोज्नुभएको हो । २०७८ सालदेखि सुरू गर्नुभएको कागती खेती अहिले १ हजारभन्दा बढी बोटमा फैलिएको छ ।
मन्थली नगरपालिका-५ कै रामबहादुर शाही करिब तीन दशकसम्म काठमाडौंमा नर्सरी र पुष्प खेतीमा संलग्न हुनुहुन्थ्यो । तर केही वर्षअघिबाट उहाँले गाउँमा ड्रायगन, कागती, आँप, मेवा, अम्बा, बोधिचित्तासहित विभिन्न फलफूल खेती सुरू गर्नुभयो ।
आम्दानी बढी हुने र बजार सजिलो भएकै कारण उनीहरू अमिलो जातका फलफूल जुनार, सुन्तला र कागती खेती उत्पादनमा आकर्षित भएका हुन । बजारमुखी फलफूल खेतीले गाउँमा आम्दानी मात्र होइन, जीवनस्तरमै परिवर्तन ल्याएको छ ।
नगदे खेतीबाट धेरै किसान आत्मनिर्भर बन्न थालेका छन् ।