धादिङ समदरमुकाम नजिकै डुडेदोभानको पहिरोले बस्ती जोखिममा, स्थानीय नागरिक त्रासमा बाँच्न बाध्य

भाद्र १०, २०८२ |पोषनाथ अधिकारी
धादिङ समदरमुकाम नजिकै डुडेदोभानको पहिरोले बस्ती जोखिममा, स्थानीय नागरिक त्रासमा बाँच्न बाध्य

धादिङ । धादिङको सदरमुकाम धादिङबेसी नजिकै शान्तिटोल डुडेदोभान क्षेत्रमा गएको पहिरोको कारण सो क्षेत्रका बस्ती जोखिममा परेको छ । 

एक वर्षअघि पहिरो गएको स्थानमा अहिले पुन: पहिरो खस्न थालेपछि यहाँका बासिन्दा त्रासैत्रासमा बाँच्न बाध्य छन् । गत वर्षको असोज ११ र १२ गतेको अबिरल वर्षा सँगै सदरमुकाम धादिङबेसीको माथिल्लो बजार छेवैको शान्तिटोल हुँदै डुडेदोभान जाने सडक खण्डमा जताततै पहिरो गयो । 

पहिरोले बस्तीसमेत प्रभावित हुने देखिएपछि एक वर्षदेखि शान्तिटोल हुँदै साङ्कोषतर्फ जाने सडक निर्माणको कामसमेत रोकिएको छ । अहिले फेरि सोही ठाउँमा पहिरो खस्ने र बस्ती भएको स्थानमा जमिन भासिन थालेपछि स्थानीय त्रसित छन् ।

सदरमुकाम छेवैको बस्तीका एक सयभन्दा धेरै घरपरिवार यो पहिरोबाट प्रभावित छन् । एकातिर आउजाउ गर्ने सडक बनाउनसक्ने अवस्था छैन भने अर्कोतर्फ बस्तीसँगै ग्रामीण भेगतर्फ जाने अन्य दुई सडकसमेत ठाउँठाउँमा भासिन थालेको छ । 

पहिरोको नजीक जंगल भए पनि केही माथिदेखि बस्तीसम्मको भाग भासिन थालेकाले यहाँका नागरिकलाई वर्षात्‌को समयमा कसरी रात कटाउने भन्ने चिन्ताले सताउन थालेको छ ।

गत वर्ष पहिरो झरेपछि यसको रोकथामको लागि स्थानीय तहले रोकथामको प्रयास नगरेको होइन । तर प्रभावित क्षेत्र धेरै भएकाले प्रदेश र संघ सरकारको सहयोग बिना यसको रोकथाम र नियन्त्रण सम्भव नहुने निष्कर्षमा जनप्रतिनिधि पुगेका छन् ।

बर्खा अझै बाँकी रहेकाले पहिरोको जोखिममा रहेका नागरिक त्रासमा रात काटिरहेका छन् । एकातिर उनीहरूलाई सुरक्षित गर्ने कुरामा चासो दिन जरूरी छ भने अर्कोतर्फ सदरमुकाम छेवैमा भएको पहिरोको नियन्त्रण र व्यवस्थापनमा समेत संघ र प्रदेश सरकारले तत्काल योजना बनाई कार्यान्वयनमा लान जरूरी छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।