काठमाडौं । हिन्दू महिलाहरूले मङ्गलबार धूमधामका साथ हरितालिका तीज मनाएका छन् ।
विराटनगरका शिवालयहरूमा बिहानैदेखि पूजाआजा र दर्शन गर्ने महिलाको भिड लाग्यो । यस क्रममा व्रतालु महिलाले शिवको पूजा आराधना र नाचगान गरेर तीज मनाएका हुन् ।
भाद्र शुक्ल तृतियाका दिन विवाहित महिलाले पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै निराहार व्रत बस्ने गर्छन भने अविवाहितले सुयोग्य पति पाउन व्रत बस्ने प्रचलन रहेको छ ।
खोटाङको त्रि-धार्मिक स्थल हलेसीको हलेश्वर महादेवको पूजाआरधना गर्न बिहानैदेखि हजारौं महिलाहरू उपस्थित भएका थिए । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर-७ महादेवस्थानमा रहेको हलेसी महादेवको मन्दिरमा पनि दिनभर पूजाआजा गर्ने, मन्दिर प्राङ्गणमा दिनभर नाँचगान गर्ने र सन्ध्याकालिन साँझबत्ती बाल्नेहरूको बाक्लो चहलपहल रहेको थियो । यस्तै, दिक्तेलस्थित बुद्धेश्वर महादेव र वराहपोखरी गाउँपालिकाको शंखेश्वर महादेवमा पनि दर्शनार्थीहरूको भीड लाग्यो ।
उता हरितालिका तीजको अवसरमा इलाम चोक वजारमा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । हरितनगर महिला समूहले आयोजना गरेको कार्यक्रममा महिलाहरू दिल खोलेर नाचगानमा सहभागी भए । जिल्लाका विभिन्न धार्मिक क्षेत्रमा पनि महिलाहरूले धार्मिक र सांस्कृतिक कार्यक्रम गरेर सामूहिकरूपमा तीज मनाएका छन् ।
तीजको अवसरमा भक्तपुरको दत्तात्रय मन्दिरलगायत अन्य शिवालयमा व्रतालु महिलाहरूले विषेश पूजाअर्चना गरेका छन् । भक्तपुरको नेवार समुदायले भने मंगलबार राति गणेश चतुर्थी पर्व मनाउदैँ छन ।
राती घरको कौशीमा गणेश भगवानको पुजा आरधना गरि यो पर्व मनाइन्छ । यस पर्वमा मकै भटमास, लगाएतका गेडागुडी तथा फलफुल चढाई प्रसादको रूपमा खाने चलन छ ।
यसैगरि काभ्रेको बनेपामा सोमबारदेखि तीज बनेपा महोत्सव-२०८२ सुरू भएको छ । बनेपा नगरपालिका-८ स्थित सुमंगल शान्तिनगर क्षेत्रमा सञ्चालन हुने महोत्सव भदौ २२ गतेसम्म चल्नेछ।
महोत्सवमा दैनिक उपभोग्य सामग्री, कृषि तथा घरेलु उत्पादन, हस्तकला, आधुनिक व्यवसायिक वस्तु, पर्यटनसम्बन्धी सामग्री र स्थानीय उत्पादन प्रदर्शन तथा बिक्री गरिँदैछ।
सिन्धुपाल्चोकमा पनि महिलाहरूले हरितालिका तीज महादेव र पार्वतीको पूजा-आराधना गर्दै उल्लासपूर्वक मनाएका छन्। व्रत बसेका महिलाहरू बिहानैदेखि महादेवको मन्दिरमा पूजा अर्चना गर्न पुगेका थिए।
शिव पार्वतीको पूजा गरेपछि महिलाहरूले गीत गाउँदै नाचगान गर्दै सामूहिक रूपमा रमाइलो गरेका छन्।