काठमाडौं । साविक विजेता एडलेड स्ट्राइकर्स ऐकेडेमीलाई पराजित गर्दै पर्थ स्कोचर्स ऐकेडेमीले टप एन्ड टी-२० सिरिज २०२५ को उपाधि जितेको छ ।
अस्ट्रेलियाको डार्विनस्थित मारारा क्रिकेट मैदान नम्बर २ मा सम्पन्न फाइनल खेलमा पर्थले एड्लेडलाई १५ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।
एडलेडले टस जितेर फिल्डिङ रोजेपछि सुरूवातमा ब्याटिङ गरेको पर्थले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ५ रनको विशाल योगफल तयार पारेको थियो ।
ओपनर साम फ्यानिङ १९ रनमा आउट भए । जोएल कर्टिसले पनि ७ रन मात्र बनाउन सके । तर तेस्रो विकेटका लागी ब्याक्सटर होल्ट र कप्तान टिग विलीले अविजित १ सय ६४ रनको शतकीय साझेदारी गरे ।
टिग ५६ रनमा नटआउट रहे । होल्टले ६३ बलमा १२ चौका र ४ छक्को सहयोगमा १ सय १४ रनको अविजित शतकीय इनिङ्स खेले । एड्लेडका लागि हानो ज्याकोब्स र जेर्सिस वाडियाले १-१ विकेट लिए ।
२ सय ६ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एड्लेडले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन मात्र जोड्न सक्यो । उसका लागि हृयारी म्यानेन्टीले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।
हृयारी निल्सनले २८ रनको योगदान दिए । म्याकेन्जी हार्वेले ५२ बलमा ४ चौका र ४ छक्काको सहयोगमा नटआउट ८३ रन बनाए पनि अन्य ब्याटरबाट राम्रो साथ पाउन सकेनन् ।
पर्थलाई च्याम्पियन बनाउन किटन क्रिचेल र म्याथ्यू स्पोर्सले समान २-२ विकेट लिए । प्रतियोगिताको प्रत्यक्ष प्रशारण कान्तिपुर म्यासबाट भएको थियो ।