विश्वबजारका लागि प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम नै परिमार्जन गर्ने

प्रविधिमैत्री र व्यवहारिक ज्ञान दिने गरी नयाँ पाठ्यक्रम बनाइँदै
भाद्र ९, २०८२ |नारायण किलम्बू
विश्वबजारका लागि प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम नै परिमार्जन गर्ने

काठमाडौं । विश्व बजारको माग र आवश्यकताअनुसार त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । 

उच्चशिक्षालाई नयाँ प्रविधि र सीपसँग जोड्ने गरी त्रिविले नयाँ पाठ्यक्रम बनाउने भएको हो । विश्वविद्यालयमा हुने बन्द हड्ताल र खस्किँदै गएको शिक्षाको गुणस्तरकै कारण बर्सेनि लाखौं विद्यार्थी अध्ययनका लागि विदेशिँदै गएका छन् । 

यसलाई रोक्न पनि गुणस्तरीय र रोजगारमूलक शिक्षा दिने गरी पाठ्यक्रम परिमार्जन गर्नुपर्ने आवश्यकता त्रिविले देखेको हो । विज्ञहरूले पनि उच्चशिक्षा अध्ययनपछि रोजगारी प्राप्त हुने गरी ठोस योजनासहितको पाठ्यक्रम बनाउन सुझाव दिएका छन् ।

उच्च शिक्षा लिएपछि पनि रोजगारीका अवसर नपाउँदा शिक्षाशास्त्र संकायमा विद्यार्थीको संख्या घट्दै गएको छ । विद्यार्थी नै नभएपछि शिक्षाशास्त्र अध्ययन गराउने कतिपय क्याम्पस त बन्द नै भइसके भने कति बन्द हुने अवस्थामा छन् । 

अर्कोतर्फ सरकारले जुनसुकै विषयमा उच्चशिक्षा हासिल गरेकाले पनि सामुदायिक विद्यालयमा शिक्षक बन्न पाउने व्यवस्था गरेको छ । तर यसले पनि गुणस्तरीय शिक्षक पाउन कठिन भएपछि त्रिवि शिक्षाशास्त्र संकायले १० वर्ष पुरानो सबै पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । योसँगै अब शिक्षाशास्त्रलाई सैद्धान्तिक ज्ञानसँगै उद्यमशीलतासँग जोड्ने गरी स्नातक तहदेखिकै १७ वटा विषयको पाठ्यक्रम नयाँ बनाइने छ ।

त्रिविले शिक्षाशास्त्र मात्र होइन, मानविकी, व्यवस्थापन, इन्जिनियरिङलगायतका प्राय: सबै संकाय र अध्ययन संस्थानको पाठ्यक्रम समयसापेक्ष बनाउने भएको हो । विश्वविद्यालयमा नियमित अध्ययन गर्ने ५ लाखमध्ये २ लाख ५० हजार अर्थात् ५० प्रतिशत भार ओगटेको व्यवस्थापन संकायले पनि विश्व बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न पाठ्यक्रम परिमार्जन गर्न लागिएको जनाएको छ । 

अब व्यवस्थापनलाई सूचना प्रविधिसँग जोड्ने गरी नयाँ पाठ्यक्रम बनाइने र त्यसले विश्वबजारको आवश्यकताअनुसार जनशक्ति उत्पादन हुने दाबी त्रिविको छ । अहिले धेरै विद्यार्थी कक्षा १२ पछि उच्च शिक्षा अध्ययन गर्न विदेशिने गरेका छन् । 

आर्थिक वर्ष २०८१/८२ मा १ लाख २३ हजारले उच्चशिक्षा अध्ययनका लागि शिक्षा मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमति लिएका थिए । देशको राजनीतिक अस्थिरता, विश्वविद्यालयमा हुने बन्द हड्ताल र उच्चशिक्षा हासिल गरे पनि अवसर नपाउने भएकाले विद्यार्थी बाहिरिने गरेका हुन् ।

उच्चशिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीलाई रोक्न सैद्धान्तिक ज्ञानसँगै सीप र उद्धमशीलता जोड्ने पाठ्यक्रम आवश्यक देखिएको हो । त्यसका लागि विद्यार्थीलाई स्वदेशमै पढ्दै कमाउँदै गर्ने अवसर दिने नीति लिन आवश्यक रहेको विज्ञको बुझाइ छ ।

निजी क्षेत्रले अहिले पनि प्राविधिक र दक्ष जनशक्ति नभएको भन्दै गुनासो गरिरहेको छ । विश्वविद्यालयबाट उत्पादन हुन जनशक्तिले सैद्धान्तिक ज्ञान मात्र हासिल गर्दै आएका छन् । 

अब सैद्धान्तिक ज्ञान मात्र नभएर सीपयुक्त जनशक्ति उत्पादनको खाँचो भए पनि त्रिविले त्यही अनुसारको पाठ्यक्रम बनाउन लागेको हो । त्यसपछि विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन भएर विदेशिने खोज्ने विद्यार्थीलाई समेत रोक्न सकिने विश्वास त्रिविको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।