साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालकाे दोस्रो हार

भाद्र ८, २०८२ |खेल ब्युरो
साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालकाे दोस्रो हार

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो हार बेहोरेको छ । आइतबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ३-० ले पराजित भएको हो ।

भुटानको चाङ्लिथाम रंगशालामा बंगलादेशलाई जित दिलाउन थुनुए मार्मा, सौरभी अखण्ड प्रीति र मामोनी चक्माले समान १-१ गोल गरे । बंगलादेशको आक्रमण सामू नेपालले फितलो प्रदर्शन गर्यो ।

खेलको ४१औं मिनेटमा मार्माको गोलमार्फत् बंगलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै सौरभीले टोलीको अग्रता दोब्बर बनाइन् । यससंगै बंगलादेशले पहिलो हाफमा २-० को अग्रता बनायो । 

साथै उसले गोल गर्ने धेरै अवसर पनि खेर फालेको थियो । दोस्रो हाफको इन्जुरी समयमा चक्माले गोल गर्दै बंगलादेशलाई ३-० को सहज जित दिलाइन् । जितसँगै तीन खेलमा ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । 

पराजित नेपाल समान खेलबाट तीन अंकका सात तेस्रो स्थानमा छ । यसअघि भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई २-१ ले हराएको थियो । 

यसैगरी भुटानलाई ३-१ ले हराएको बंगलादेशले भारतसँग २-० को पराजय बेहोरेको थियो । आजै सम्पन्न पहिलो खेलमा भारतले भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गर्यो । भारत प्रतियोगिताको शीर्ष स्थानमा छ ।