काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवार हुनेको नाम टुंगो लगाउन बसेको कांग्रेस पदाधिकारीको बैठक निष्कर्षविहीन भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा साेमबार बसेको पदाधिकारीसहितको बैठकमा समितिको सभापतिका उम्मेदवारको नाममा सहमति जुट्न नसकेको हो । समितिका सभापति रामहरी खतिवडाले कुलिङ अफ पिरियड हेरफेरमा नैतिकताको जिम्मेवारी लिँदै राजीनामा दिएपछि अहिले यो पद रिक्त छ ।
सत्ता गठबन्धन दल एमाले कांग्रेसलाई नै सभापति दिन सहमत भए पनि कसलाई उम्मेदवार बनाउने भन्नेमा कांग्रेसका नेताहरूबीच कुरा मिल्न नसकेको हो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेले भोलि बिहान ११ बजेको बैठकले समितिको सभापतिको नाम टुंगो लगाउने बताउनुभयो ।
२७ सदस्यीय समितिमा नेपाली कांग्रेसका ९ जना सांसद छन् । समितिको सभापतिमा दीलेन्द्रप्रसाद बडू, हृदयराम थानी, सरिता प्रसाई र अम्बिका बस्नेत आकांक्षी छन् । कांग्रेसले यी चार जनामध्ये कसलाई पठाउने भन्ने निर्णय गर्न नसकेको हो ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषय समेत प्रवेश गराउनुभएको थियो । उपसभामुखलाई हटाउने विषयमा कांग्रेसभित्र दुईधार छ ।
राज्य व्यवस्था समितिको सभापतिको नाम टुंगो लगाउने सभापति देउवाले साेमबार दिनभर छलफल गर्नुभएको थियो । सभापति देउवाले पदाधिकारीबाहेक गृहमन्त्री रमेश लेखक, मुख्य सचेतक श्याम घिमिरे, समितिका निवर्तमान सभापति रामहरि खतिवडासँग पनि छलफल गर्नुभएको थियो ।