एन्फा महिला लिग छनोटमा संकटा फुटबल क्लबकाे लगातार तेस्रो जित

भाद्र ८, २०८२ |खेल ब्युरो
एन्फा महिला लिग छनोटमा संकटा फुटबल क्लबकाे लगातार तेस्रो जित

काठमाडौं । संकटा फुटबल क्लबले एन्फा महिला लिग छनोटमा प्रभावशाली प्रदर्शन गर्दै लगातार तेस्रो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आइतबार भएको खेलमा संकटाले बुटवल लुम्बिनी एफसीलाई ३-० को गोल अन्तरले पराजित गरेको हो । तेस्रो जितसँगै संकटा समूह 'बी' को शीर्ष स्थानमा यथावत छ । 

संकटाको जितमा पहिलो हाफमा सिम्रन राई र सेनु परियारले १-१ गोल गरे । बुटवलले मौका पाए पनि खेलाडीहरू फिनिशिङमा चुके । खेलको ८८औं मिनेटमा रेनिशा शर्माले संकटाका लागि तेस्रो गोल गरिन् ।

जितसँगै संकटाले तीन खेलबाट ९ अंक जोडेको छ । समूहको शिर्ष स्थानमा रहेको स‌ंकटा तेस्रो चरणसम्म अपराजित छ । पहिलो हार बेहोरेको बुटवल लुम्बिनी एफसीले समान खेलमा ६ अंक जोडेको छ । बुटवलले यसअघि पोखरा गर्ल्स एफसीलाई ३-० ले पराजित गरेको थियो ।

आजै सम्पन्न समूह एको खेलमा छहारी युवा क्लब र राप्ती एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । छहारी पनि जारी प्रतियोगितामा अपराजित छ । उसको तीन खेलमा ७ अंक छ भने राप्तिको ३ खेलमा ४ अंक छ ।