काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको समय तालिका मिलाउन पराष्ट्र मन्त्रालयले गृहकार्य सुरू गरेको छ ।
प्रधानमन्त्री ओलीले यही भदौ १४ गतेदेखि १८ गतेसम्म चीनको पाँच दिने भ्रमण गर्नुहुने तय भएको छ । चीनको तियाजिङमा हुने सांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीको चीनका राष्ट्रपति सी चीनफिङ र भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ताको कार्यसूचीका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य थालेको हो ।
दुबै नेतासँग ओलीको भेटघाट हुने निश्चित प्राय: भए पनि समय र कार्यतालिका भने टुङ्गो भने लागिसकेको छैन । एससीओ सम्मेलनमा रहँदा प्रधानमन्त्री ओलीले चीन र भारतबाहेकका अन्य राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग पनि दुइपक्षीय र बहुपक्षीय भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
नेपालको सहमतिबिना नेपाली भूमि लिपुलेक हुँदै चीन र भारतले व्यापार मार्ग खोल्ने सम्झौता गरिरहेको बेला ती देशका सरकार प्रमुखहरूको जमघट हुने सम्मेलनमा प्रधानमन्त्री ओली सहभागी हुने भएकाले त्रिपक्षीय भेटवार्तालाई महत्वका साथ हेरिएको छ।
उक्त भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले लिपुलेकको विषय उठाउने कि नउठाउने भन्नेबारेमा पनि सरकार छलफलमै छ । लिपुलेकमार्फत् सीमापार व्यापार खोल्ने दुई देशबीचको सहमतिको विरोधमा नेपाल सरकारले कूटनीतिक नोट पठाएकोमा दुबै देशले त्यसको जवाफ दिएका छैनन् ।
जसका कारण यो मुद्दा उठाउने या नउठाउने भन्ने विषयमा परराष्ट्रका अधिकारीहरू अन्योलमा छन्।