नयाँ जोशसहित मैदानमा उत्रन तयार विराटनगर किङ्गस

बलियो स्पिन आक्रमण तर ओपनर र फास्ट बलर खोजीमा
भाद्र ८, २०८२ |फायेज होदा
नयाँ जोशसहित मैदानमा उत्रन तयार विराटनगर किङ्गस

काठमाडौं । गत संस्करणमा अपेक्षित प्रदर्शन गर्न नसकेपछि लिग तालिकाको छैटौँ स्थानमा सीमित भएको विराटनगर किङ्गस यसपटक नयाँ जोश र दृष्टिकोणसहित मैदानमा उत्रने तयारीमा छ । 

कप्तान सन्दीप लामिछानेको नेतृत्वमा टोलीले गत वर्षका कमजोरीलाई सुधार गर्दै ११ सदस्यीय स्वदेशी टोली तयार पारिसकेको छ । उसले विदेशी बजारबाट खेलाडी छान्दा विशेष विचार गर्नुपर्ने अवस्था छ । किङ्गसको बलियो पक्षमा घातक स्पिन आक्रमण पर्दछ भने ओपनर जोडी खोज्नु आवश्यक छ । अहिलेसम्म हेर्दा प्रतिश जिसीले फास्ट बलिङ आक्रमणको नेतृत्व गर्नेछन् ।

मिनी अक्सनमा प्रवेश गर्दा विराटनगरसँग जम्मा ४५ लाख ५० हजार रूपैयाँको पर्स थियो । अक्सनमा टोलीले जम्मा २७ लाख रूपैयाँ खर्च गर्‍यो भने १८ लाख पचास हजार रूपैयाँ अझै पर्समा बाँकी छ । 

उसले श्रेणी 'ए' का सुर्य तामाङलाई दश लाख रूपैयाँ, श्रेणी 'बी' का संकर राना, साहिल पटेल र नारायण जोशीलाई पनि ५-५ लाख रूपैयाँमा भित्र्याएको छ । श्रेणी 'सी' का श्रवण किस्कु दुई लाख रूपैयाँमा किङ्गसको हिस्सा बनेका छन् ।

रिटेन खेलाडीमध्ये कप्तान सन्दीप लामिछाने आफैं प्रमुख स्पिनर हुन् । उनीसागै नरेन भट्ट, लोकेश बम, बसिर अहमद, प्रतिस जिसी र सुवास भण्डारी पनि टोलीमा निरन्तर रहनेछन् ।

स्क्वाडका केही उल्लेखनीय बलियो पक्ष पनि छन् । विशेषगरी स्पिन आक्रमणमा विराटनगर निकै सशक्त बनेको छ । सन्दीप लामिछानेको लेग स्पिन, बसिर अहमद र सुर्य तामाङको लेफ्ट आर्म ओर्थोडक्स स्पिन तथा सुवास भण्डारीको अफ स्पिनले टोलीलाई फरक-फरक विकल्प प्रदान गरेको छ । 

मिडल अर्डरमा नरेन भट्ट, बसिर अहमद र शंकर राना छन् । नारायण जोशीले मिडियम फास्ट बलिङसहित ब्याटिङ पनि गर्न सक्छन् । तर यस स्क्वाडमा कमजोरी नभएका भन्ने पनि होइन । अहिलेको टोलीमा ओपनरको अभाव छ । 

विराटनगर ओपनर जोडीकै खोजीमा रहँदा आक्रामक र एंकर ब्याटरको सन्तुलन पनि आवस्यक छ । उसले शीर्ष क्रमको थप एक ब्याटर पनि खोज्नु पर्ने छ । फास्ट बलिङ विभागमा पनि पर्याप्त गहिराइ देखिँदैन । 

फास्ट बलिङको नेतृत्व प्रतिस जिसीले गर्दै छन् । उनलाई नारायण जोशी र श्रवण किस्कुले साथ दिने छन् । प्रतिसको क्षमतामा कुनै शंका नभए पनि अन्य विकल्पहरूमा अनुभवको कमी हुनसक्छ ।

त्यसैले विदेशी बजारबाट विराटनगरले खेलाडी छान्दा निकै सोचविचार गर्नुपर्ने हुन्छ । पावरप्लेमा धुवाँधार ब्याटिङ गर्न सक्ने आक्रामक ओपनर जोडी टोलीको पहिलो प्राथमिकता बन्नु पर्छ । 

साथै यहीबाट टोलीले एक विदेशी विकेटकिपर समेत खोज्नु पर्ने छ । त्यसपछि सुरूवात र डेथ ओभरमा प्रतिसलाई साथ दिने स्ट्राइक फास्ट बलर आवश्यक छ । मिडल अर्डरमा आक्रामक ब्याटिङ र आवश्यक परे बलिङ दुवै गर्न सक्ने अलराउन्डरले टोलीलाई थप सन्तुलन दिनेछन् । 

अन्ततः इनिङ्स एंकर गर्ने क्षमता भएको तर परिस्थिति अनुसार आक्रामक बन्न सक्ने एक स्टाइलिस टप अर्डर ब्याटर पनि टोलीका लागि जरूरी छ । विदेशी खेलाडीहरूसँगै, ट्यालेन्ट हन्टमार्फत ल्याइने एक स्थानीय खेलाडीले पनि टोलीको स्वरूप निर्धारण गर्नेछन् । 

यसमा विराटनगरले विशेषगरी फास्ट बलरलाई प्राथमिकता दिनुपर्नेछ । समग्रमा भन्नुपर्दा, विराटनगर किङ्गससँग अहिले उत्कृष्ट स्पिन आक्रमण र ठिकठाक मिडल अर्डर उपलब्ध छ । 

बाँकी आवस्यकता विदेशी बजारबाट पुरा गर्न सके टोली अघिल्लो संस्करणभन्दा निश्चित रूपमा फरक देखिने छ र आफूलाई उपाधि दावेदारका रूपमा प्रस्तुत गर्ने छ ।


Image

फायेज होदा

फायज कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन्