काठमाडौं । विश्वभरका टेनिस स्टारहरू अहिले वर्षको अन्तिम ग्रान्ड स्ल्यामको तयारीमा व्यस्त छन् ।
हार्ड कोर्टमा खेलिने प्रतियोगिता भोलिदेखि अमेरिकाको न्यूयोर्कमा सुरू हुँदै छ । यानिक सिनर यस वर्ष तेस्रो ग्रान्ड स्ल्याम जित्ने लक्ष्यमा हुँदा कार्लोस अल्काराज दोस्रो मेजर हात पार्ने दाउमा छन् ।
के नाभाक जोकोभिचले २५ ग्रान्ड स्ल्याम उपाधिको कीर्तिमान स्थापित गर्लान् ? महिलातर्फ वर्षका सुरूवाती ३ मेजर उपाधि फरक-फरक खेलाडीले जिते । के अरिना सावालेन्का उपाधि रक्षा गर्न सफल होलिन् ?
वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपन भोलिदेखि अमेरिकाको न्युयोर्कमा सुरू हुँदै छ । नयाँ पुस्ताका दुई स्टार खेलाडी यानिक सिनर र कार्लोस अल्काराजबीच पुनः प्रतिस्पर्धा हुने सम्भावना रहादा विश्व टेनिस जगतमा प्रतियोगिताको चर्चा थप चुलिएको छ ।
दुबै खेलाडी लगातार तेस्रो पटक कुनै पनि ग्रान्ड स्लामको फाइनलमा आमनेसामने हुने सम्भावित तालिका छ, जहाँ सिनर यो वर्षको तेस्रो ग्रान्ड स्लाम जित्ने लक्ष्यमा हुने छन् भने अल्काराज बदला लिने दाउमा ।
२५ औँ ग्रान्ड स्लाम उपाधिको कीर्तिमान पछ्याइरहेका अनुभवी खेलाडी नोभाक जोकोभिचका लागि नयाँ पुस्ताका उदीयमान खेलाडी पछिल्लो समय ठूलो चुनौती बन्दै आएका छन् । के जोकोभिच वर्षको अन्तिम मेजर उपाधि जित्दै आफ्नो प्रभुत्व पुनः कायम राख्न सफल होलान् ?
विश्व नम्बर एक इटालियन खेलाडी सिनर पछिल्लो समय हार्ड कोर्टमा निकै बलियो देखिएका छन् । तर, अल्काराजसँगका सात भिडन्तमध्ये उनले केवल दुई पटक मात्र जितेका छन् । यो नै उनको ५-९ को समग्र हेड टु हेड रेकर्डको मुख्य कारण बनेको छ ।
जोकोभिच प्रसस्त आराम लिएपछि एकल स्पर्धाका लागि कोर्टमा फर्किने तयारीमा छन् । २०२३ पछि कुनै ग्रान्ड स्ल्याम जित्न नसकेपनि अनुभवी जोकोभिचलाई कमजोर आकलन गर्ने साहस कुनै पनि खेलाडीले गर्ने छैनन् ।
विश्व टेनिसका सफल खेलाडीमध्ये एक जोकोभिचलाई हराउन सहज हुने छैन । जर्मन खेलाडी अलेक्जेन्डर ज्भेरेभ पनि आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधिका लागि प्रयासरत छन् ।
अमेरिकी खेलाडी बेन शेल्टनले हालै क्यानडियन ओपन जितेर सबैको ध्यान तानेका छन् । सन् २००३ मा एन्डी रोडिकले युएस ओपन जितेपछि कुनै पनि अमेरिकी पुरुष खेलाडीले उपाधि जित्न सकेका छैनन् ।
यस्तै, चार पटककी ओलम्पिक स्वर्ण विजेता भेनस विलियम्स वाइल्ड कार्डमार्फत महिला एकलतर्फ प्रतिस्पर्धा गर्दैछिन् । यस वर्षका तीनवटै ग्रान्ड स्लामको फाइनलमा अमेरिकी महिला खेलाडी पुगेका छन् । अब उनीहरू युएस ओपनमा पनि उपाधि जित्दै सिजन पूरा गर्न चाहन्छन् ।
रोलन्ड ग्यारोस विजेता कोको गफ यसपटक आफ्नो पहिलो उपाधि जितेको २०२३ को स्मृति लिएर फर्किएकी छन् । अस्ट्रेलियन ओपन विजेता म्याडिसन कीज, विम्बल्डन उपविजेता अमान्डा अनिसिमोवा, विश्व नम्बर चार जेसिका पेगुला र २०२४ की सेमिफाइनलिस्ट एम्मा नाभारो पनि शीर्ष प्रतिस्पर्धी हुन् । तर,डिफेन्डिङ च्याम्पियन आर्यना साबालेन्कालाई हराउनु कुनै पनि खेलाडीका लागि सजिलो हुने छैन ।
उनले यो सिजनका सबै ग्रान्ड स्लाममा सेमिफाइनलमा पुगेकी छन् । यसैबीच, सन् २०२२ की युएस ओपन विजेता इगा स्वियातेक, २०२१ की च्याम्पियन एम्मा राडुकानु र दुई पटककी विजेता नाओमी ओसाका पनि पुनः उपाधिका लागि तयार छन् ।