काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टि ट्वान्टी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले आज मेलवर्न रेनेगेड्स एकेडेमीसंग प्रतिस्पर्धा गर्दैछ ।
डार्विन स्थित क्यालिज एरिना पाल्मर स्टोनमा हुने खेल नेपाली समय अनुसार विहान सवा एघार बजे सुरु हुनेछ । चौथो खेलमा आएर हारको श्रृङखला तोडेको नेपाल आज पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ । रोहित पौडेलको टिम सुरुवाती तीन खेलमा पराजित भएको थियो ।
हिजो भएको खेलमा नेपालले हुबर्ट हरिकेन्स माथि ६६ रनको फराकिलो जित हात पार्दै जारी सिरिजमा पुनरागमन गरेको हो । यो खेलमा पहिलो ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । प्रशिक्षक स्टुअर्ट लअ ले अल राउन्डर दिपेन्द्र सिंह ऐरीलाइ आराम दिएका थिए । ब्याटिङमा देखिएको कमजोरीमा नेपालले सुधार गर्यो । जवाफमा हरिकेन्स १ सय १४ रनमा अल आउट भयो ।
तीव्र गतिका बलर नन्दन यादवले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका थिए । मेलवर्नले भने आफ्नो अघिल्लो खेलमा पाकिस्तान शाहिन्स संग हार बेहोरेको थियो । उसको यो तीन खेलमा पहिलो हार हो । नेपालका लागि लगातार दोस्रो जित हात पार्ने हो भने उत्कृष्ट ब्याटिङ र फिल्डिङ गर्न आवश्यक छ । नेपालले बलिङमा भने संतोषजनक प्रदर्शन नै गरिरहेको छ । नेपालले टि ट्वान्टी विश्वकपको तयारीका लागि अष्ट्रेलिया भ्रमण गरेको हो ।