देशभर मनसुन केही कमजोर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम भने जारी

भाद्र ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
देशभर मनसुन केही कमजोर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम भने जारी

काठमाडौं । देशभर मनसुन केही कमजोर रहेको छ । जसका कारण आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको पनि महाशाखाले जनाएको छ । तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम चलिरहेको छ। जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ। 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई र पहाडी भूभागमा थोरै र बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.