काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बस्दैछ ।
अपरान्ह १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची छ ।
यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । बैठकमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।
यसैबीच आजदेखि निजामती विधेयकमाथि राष्ट्रिय सभामा दफावार छलफल हुँदै छ । निजामती कर्मचारीको अनिवार्य अवकाश वा राजीनामापछि संवैधानिक, कूटनीतिक र सरकारीसँगै स्वार्थ बाझिने गरी गैरसरकारी संस्थामा पनि दुई वर्षसम्म नियुक्ति लिन नपाउने ‘कुलिङ अफ पिरियड’ को प्रावधानलाई निष्प्रभावी बनाउन छलछाम भएसँगै निजामती विधेयक चर्चामा छ ।
‘कुलिङ अफ पिरियड’ लाई लिएर मुख्यसचिव, संसद्कै महासचिव र सरकारका सचिवले विरोध गरिरहेका बेला दलहरूको समेत फरक–फरक संशोधन परेकाले यस विधेयकमाथि हुने अन्तिम संसदीय छलफलमा सबैको चासो बढेको हो । प्रधानमन्त्रीकै दल एमालेसहित लोसपा र मनोनीत सांसदले ‘कुलिङ अफ पिरियड’ हटाउनुपर्ने भन्दै संशोधन हालेका छन् ।
सांसदहरू गोपाल भट्टराई, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला, सुमित्रा बीसी, अञ्जान शाक्य र शेखरकुमार सिंहले ‘कुलिङ अफ पिरियड’ को विपक्षमा संशोधन हाल्नु भएको हो ।