काठमाडौं । आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन 'थ्री'को तेस्रो दिनसम्म एकल अग्रता कायम गरेको छ ।
मंगलबार चौथो चरणको समाप्तिमा स्ट्याग ३८ अंकका साथ शीर्ष स्थानमा छ । पहिलो संस्करणको विजेता एभीएम टेबलटेनिस क्लब ३७ अंकसाथ दोस्रो, टप स्पिन टेबलटेनिस गुड्स नेपाल ३५ अंकसाथ तेस्रो, खोल्चा पुखु खेलकुद समिति ३४ अंक साथ चौथो, होप्स टेबलटेनिस एकेडेमी ३२ अंक साथ पाँचौं र कीर्तिपुर नगरपालिका ३२ अंक साथ छैटौं स्थानमा छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा यल टेबलटेनिस र द ड्रागन्स टेबटेनिस क्लबले समान २५-२५ बटुलेका छन् । ओल्ड रेस्ट्रो र भोर्टेक्स नेपाल टेबलटेनिस क्लबको समान २४-२४ अंक छ ।
आइतबार सुरू भएको प्रतियोगिता भदौ ६ गतेसम्म चल्नेछ । नेपाली टेबल टेनिसकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने दुई टोलीले समान ७५-७५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।