एन्फा महिला लिग : छहारी युवा क्लबकाे लगातार दोस्रो जित

भाद्र ३, २०८२ |खेल ब्युरो
एन्फा महिला लिग : छहारी युवा क्लबकाे लगातार दोस्रो जित

काठमाडौं । छहारी युवा क्लबले एन्फा महिला लिग छनोटमा प्रभावशाली प्रदर्शन गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार भएको खेलमा छहारीले स्टुडेन्ट एफसीलाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । दोस्रो जितसँगै छहारी समूह 'ए' को शीर्ष स्थानमा उक्लिएको छ । यसअघि पहिलो खेलमा छहारीले एफसी रियललाई ३-० ले हराएको थियो ।

छहारीको जितमा सुमित्रासिंह पाख्रिनले दुई गोल गरिन् । अस्मिता चौधरी, ललिता मण्डल, सानिमा माया लो र दिपा पुनमगरले १-१ गोल गरे । स्टुडेन्टका लागि सविना तामाङले सान्त्वना गोल फर्काइन् ।

खेलको १६औं मिनेटमा सुमित्राले गोल गर्दै छहारीलाई अग्रता दिलाएकी थिइन् । ३५औं मिनेटमा अस्मिताले गोल गरी अन्तर दोब्बर बनाइन् । त्यसको तीन मिनेटमै सुमित्राले व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल गरिन् । 

दोस्रो हाफमा ५६औं मिनेटमा ललिताले गोल गर्दै छहारीलाई ४-० को मजबुत स्थितिमा पुर्‍याइन । ६७औं मिनेटमा सविनाले स्टुडेन्टका लागि गोल फर्काए पनि छहारीले आक्रमण जारी राख्यो । ७५औं मिनेटमा सानिमा र ७६औं मिनेटमा दिपाले गोल गर्दै छहारीलाई ६-१ को सानदार जित दिलाए ।

जितसँगै समूह एको शीर्ष स्थानमा उक्लिएको छहारीले दुई खेलबाट ६ अंक जोडेको छ । पहिलो हार बेहोरेको स्टुडेन्ट एफसीले समान खेलमा ३ अंक जोडेको छ । स्टुडेन्टले यसअघि सिन्धुपाल्चोक एफसीलाई ३-१ ले पराजित गरेको थियो ।

आजै सम्पन्न समूह बीको खेलमा संकटा क्बलले झापा एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । यससँगै २ खेलमा ६ अंक जोडेको संकटा समूहको शीर्ष स्थानमा उक्लिएको छ । २ खेलमा ३ अंक जोडेको झापा दोस्रो स्थानमा झरेको छ ।