काठमाडौं । सिनसिनाटी ओपनको बहुप्रतिक्षित फाइनल खेल भावनात्मक तरिकाले टुंगिएको छ। विश्व नम्बर एक यानिक सिनर स्वास्थ्य समस्याका कारण खेल बीचमै छोड्न बाध्य भएपछि उनले समर्थक र विपक्षीसँग माफी मागेका छन् ।
यो खेल सिनर र कार्लोस अल्काराजबीचको चर्चित प्रतिस्पर्धामा अनपेक्षित बनेको थियो। फाइनलको सुरूआतमै अस्वस्थ देखिएका सिनरले दोस्रो वरीयता प्राप्त अल्काराजविरुद्ध ५-० ले पछि परेपछि खेल जारी राख्न सकेनन्।
यससँगै अल्काराजले यस वर्षकै छैटौँ एटीपी उपाधि जित्दै आफ्नो करियरको २२औँ ट्रफी हात पारेका छन्। सिनर अहिले यूएस ओपन, अस्ट्रेलियन ओपन र विम्बल्डन च्याम्पियन हुन्। तर रिटायर्ड हर्ट भएसँगै उनले आफ्नो करियरमा छैटौँ पटक प्रतियोगिता बीचमै छोड्नुपरेको हो।
उनी पहिलो चेन्जओभरमा टाउकोमा बरफ राख्दै गरेका देखिएका थिए। थप खेल्न नसक्ने अवस्थामा पुगेपछि प्रशिक्षकसँग छोटो छलफल गरी उनले खेल त्यागेका हुन्।
यस घटनाले अमेरिकी ओपनको तयारीमा रहेका २३ वर्षीय इटालियन स्टारका स्वास्थ्यबारे थप चिन्ता बढाएको छ। अमेरिकी ओपनको उपाधि बचाउन केबल छ दिन बाँकी रहँदा भएको यस घटनाले उनको तयारीमा असर गर्नेछ।
यता मंगलबार बिहान भएको महिला तर्फको फाइनलमा भने इगा स्वान्तेकले उपाधि जितेकी छन्। फाइनलमा इटालीकी पाओलिनिलाई हराएर उनले उपाधि जितेकी हुन्। उनले पहिलो सेटमा ७–५ र दोस्रो सेटमा ६-४ को जित दर्ता गरेकी हुन्।