टप एन्ड टी-ट्वान्टी सिरिजमा नेपालको पहिलो जित, शीर्ष चारमा स्थान बनाउने झिनो सम्भावना जिवितै

भाद्र ३, २०८२ |खेल ब्युरो
टप एन्ड टी-ट्वान्टी सिरिजमा नेपालको पहिलो जित, शीर्ष चारमा स्थान बनाउने झिनो सम्भावना जिवितै

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । 

यसअघिका तीन खेलमा लगातार पराजित भएको नेपालले मंगलबार होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गरेको हो । नेपालको जितमा नन्दन यादवले सानदार बलिङ गर्दै ५ विकेट लिए । यस जितसँगै नेपालको शीर्ष चारमा स्थान बनाउने झिनो सम्भावना जिवित भएको छ ।

डार्बिनमा चार परिवर्तनसहित मैदान उत्रिएको नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो । 

ओपनर कुशल भुर्तेलले २० बलमा ४ चौकासहित २७ रन बनाए । अन्य खेल जस्तै कुशलले राम्रो सुरूवात पाएपनी त्यसलाई ठुलो स्कोरमा परिणत गर्न सकेनन् । अर्का ओपनर आसिफ शेखले २९ रनको योगदान दिए । 

मध्यमक्रममा भीम सार्कीले १८ र कप्तान रोहित पौडेलले ९ रन मात्र बनाए । आरिफ शेखले सर्वाधिक ३३ रन जोडे । लोकेश बमले अन्तिममा १० बलमा २५ रनको आक्रमक इनिङ्स खेले । लोकेश अविजित रहेका थिए । होबार्टका लागि राफ म्याकमिलन र नभिथन राधाकृष्णनले समान २-२ विकेट हात पारे ।

जवाफमा १ सय ८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६ ओभर १ बलमा १ सय १४ रनमा समेटियो । होबार्टका लागि बाड्ली होप ३१ र चार्ली वाकिम २८ बनाए । अन्य ब्याटरले खासै योगदान दिन सकेनन् । यसका ७ जना ब्याटर दोहोरो अंकमा कन बनाउन असफल भए ।

यो जितसँगै नेपालले ४ खेलमा २ अंक जोडेको छ । होबार्टको पनि ४ खेलमा २ अंक छ । ऊ तालिकाको नवौं स्थानमा छ । यस जितले नेपालको शीर्ष ४ मा पुग्ने गणितिय सम्भावनालाई जिवित गरेपनि त्यो निकै कठिन देखिएको छ । 

यसअघि नेपाल नर्दन टेरेटोरी, बंगलादेश ‘ए’ र मेलबर्न स्टार्स एकेडेमीसँग पराजित भएको थियो । अब नेपालले भोली मेलबर्न रेनेगेड्स एकेडेमी र शुक्रबार पाकिस्तान शाहिन्सविरुद्ध प्रतिस्पर्धा गर्ने छ । 

अब नेपाललाई सेमिफाइनल प्रवेशका लागि यी दुबै टोलीविरूद्ध राम्रो नेट-रनरेटसहित जित हात पार्नु पर्ने छ भने अन्य खेलको नतिजाको समेत भर पर्नु पर्नेछ ।