काठमाडौं । इंग्लिस प्रिमियर लिगमा फर्किएको लिड्स युनाइटेडले साेमबार नयाँ सिजनको सुरूआत घरेलु मैदानबाट गर्दैछ।
तीन सिजन अघि रेलिगेसनमा परेको लिड्सले आफ्नो पहिलो खेलमा एभर्टनको सामना गर्न लागेको हो। एभर्टन त्यही टोली हो जोसँग हार ब्यहोरेपछि सन् २०२२-२३ को सिजनमा लिड्स युनाइटेड रेलिगेसनमा पुगेको थियो।
यता, एभर्टनले गत सिजन मिडल टेबलमा समाप्त गरेको थियो। त्यसैले नयाँ उर्जाका साथ लिगमा फर्किएका दुवै टोलीले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राख्नेछन्।
ड्यानियल फ्रांकको टोलीले च्याम्पियनसिपमा रवाफिलो प्रदर्शन गरेर लिगभरी एक सय अंक जोड्न सफल भएको थियो। उसले लिगको उपाधि जितेर प्रिमियर लिगमा स्थान बनाएको हो।
दोस्रो स्थानको बन्र्लीसँग बराबरी भए पनि गोलअन्तरका आधारमा लिड्स च्याम्पियन बनेर प्रोमोट भएको थियो। प्रशिक्षक ड्यानियल यो यात्रा निरन्त राख्न चाहन्छन्। प्रिमियर लिगमा बढुवा भएपछि उसले ८ नयाँ खेलाडी अनुबन्ध गरेर आफ्नो टिमलाई बलियो बनाएको छ।
प्रशिक्षक डेविड मोएजले पनि यो सिजनमा सात नयाँ साइनिङ गरिसकेका छन्। ज्याक ग्रिलिसलाई सिटीबाट लोनमा लिएका छन्। ग्रिलिस तिनै खेलाडी हुन्, जसलाई लिड्सले रेलिगेट भएपछि सिटीलाई बेचेको थियो।
ग्रिलिसको उपस्थितिले एभर्टनलाई थप बलियो बनाएको छ। यता, डोमिनिक काल्भर्ट लेविनले लिड्सको अट्याकलाई बलियो बनाउने छन्। उनले पनि आफ्नो पूर्वक्लबविरूद्ध खेल्दै सिजनको सुरूआत गर्नेछन्।
यो खेल राति पौने १ बजे सुरू हुनेछ। खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडी साथै कान्तिपुर म्याक्सको एपमा नेपालभर हेर्न सकिनेछ।