काठमाडौं । चर्च बोइज युनाइटेडले एन्फा महिला लिगमा विजयी सुरूआत गरेको छ। लिगको आफ्नो पहिलो खेलमा चर्च बोइजले रियालेलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको हो।
सातदोबाटोको एन्फा कम्प्लेक्समा चर्च बोइजले एफसी रियालेविरूद्ध डोमिनेटिङ प्रदर्शनसहित फराकिलो जित हासिल गरेको हो। खेलको पाँच मिनेटमा नै चर्च बोइजले अग्रता बनायो।
कैलालीका खेलाडीको बाहुल्यता रहेको यो टिमका लागि सुजता पालुङ्ग्वाले ब्रेकथ्रु दिलाएकी थिइन्। १६औं मिनेटमा आशिका थापाले अग्रता दोब्बर बनाइन्। रवाफिलो प्रदर्शन गरेको चर्च बोइजका लागि सुजताले २६औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरिन्।
रियालेका दुई डिफेन्डरले गम्भीर गल्ती गरेपछि त्यसको फाइदा उठाउँदै सुजताले गोल गरेकी हुन्। वर्षाले फ्ल्याङ्कबाट दिएको पासमा मनिता तुमरोकले टिमका लागि चौथो गोल गरेकी थिइन्।
त्यसैगरी ४४औं मिनेटमा वर्षाकै पासमा आशिकाले टिमको स्कोर पाँच शून्यमा पुर्याएकी थिइन्। दोस्रो हाफमा रियालेले प्रदर्शन सुधार गरेको भए पनि गोल फर्काउन भने सकेन।
चर्च बोइजका लागि वर्षाले छैटौँ गोल गरिन्। र, फराकिलो जित जितसँगै सुमन श्रेष्ठको टिम चर्च बोइजले तीन अंक जोडेको छ। रियालेले भने लगातार दुई खेलमा हार ब्यहोरेको छ।
आजको दोस्रो खेलमा न्यु रोड टिम एनआरटीले नेपाल खेलकुद क्लबलाई २-१ गोलले हराएको छ। यो खेल भारी वर्षाका कारण बीचमा झन्डै आधा घण्टा रोकिएको थियो।
पहिलो हाफ गोलरहित बने पनि ५२औं मिनेटमा खेलकुद क्लबले अग्रता बनायो। खेलको ७२औं मिनेटमा एनआरटीले गोल फर्काएपछि खेल बराबरीको अवस्थामा पुगेको थियो। तर ८० मिनेटमा अर्को गोल फर्काएर एनआरटीले २-१ को जित सुरक्षित गरेको हो।