काठमाडौं । भुटानमा आयोजना हुने साफ महिला अन्डर-सेभेन्टिन च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई विदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ-एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गरी टोलीलाई औपचारिक विदाइ गरेको हो । नेपाली टोली सोमबार भुटान प्रस्थान गर्नेछ ।
साउन ४ देखि १५ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालसँगै भारत, भुटान र बंगलादेशको सहभागिता रहनेछ । डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले एकअर्काविरूद्ध दुई-दुई खेल खेल्नेछन् । लिग तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।
प्रतियोगितामा नेपालले पहिलो खेल साउन ४ गते भारतविरूद्ध खेल्नेछ । त्यस्तै ६ गते भुटान तथा ८ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो राउण्डमा बंगलादेशसंग साउन ११ र भारतविरूद्ध १३ गते प्रतिस्पर्धा गर्ने तालिका छ ।
नेपालले आफ्नो अन्तिम खेलमा १५ गते घरेलु टोली भुटानको सामना गर्ने छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले टोली जित्ने लक्ष्य लिएर जाने बताएका छन् । नेपालले सन् २०२२ मा यो प्रतियोगिता जितेको थियो । त्यतिखेर यो प्रतियोगिता अन्डर फिप्टिन उमेर समूहमा खेलिएको थियो ।