एपीएफ फेरि ऐतिहासिक यात्रामा, एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न तयार

श्रावण ३१, २०८२ |फायेज होदा
एपीएफ फेरि ऐतिहासिक यात्रामा, एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न तयार

काठमाडौं । गत सिजन कन्टिनेन्टल फुटबलमा डेब्यू गरेको विभागीय टोली नेपाल एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको अर्को ऐतिहासिक यात्रामा निस्कन तयार छ । 

वर्षाका कारण हिलाम्मे बनेको हलचोक मैदानले एपीएफको तयारीमा केही वाधा त पुर्याएको छ । तर टिमको अठोट र संकल्पमा भने कुनै असर गरेको छैन । राष्ट्रिय टिमका १७ खेलाडीसहित अभ्यासरत एपीएफले गत वर्षको अपूर्ण कथालाई यसपटक इतिहासमा बदल्ने अठोट लिएको छ । तर, यो लक्ष्य पूरा गर्न एपीएफलाई सावित्रा भण्डारी र प्रिती राईजस्ता स्टार खेलाडीको साथ भने रहने छैन ।

हलचोकस्थित नेपाल एपीएफ क्लबको फुटबल मैदान वर्षाका कारण हिलाम्मे छ, तर एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा सहभागिता जनाउन तयार नेपाल एपीएफ क्लबको महिला फुटबल टोली भने निरन्तर प्रशिक्षणमा व्यस्त छ । राष्ट्रिय टिमका १७ खेलाडीसहित एक महिनादेखि पसिना बगाइ रहेको एपीएफले गत वर्षको अपूर्ण कथालाई यसपटक इतिहासमा बदल्ने अठोट लिएको छ ।

प्रतियोगिता नजिकिँदै गर्दा एपीएफले आफ्नो क्लब बाहिरका खेलाडीलाई पनि अनुबन्धित गरेको छ । राष्ट्रिय टोलीका दुई डिफेन्डर विमला विक र समीक्षा घिमिरेले यस पटक एपीएफबाट च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्ने छन् । 

घरेलु प्रतियोगितामा विमलाले आर्मी र समीक्षाले पुलिसबाट खेल्ने गर्छन् । चेतन घिमिरेको प्रशिक्षणमा रहेको टोलि जति शारीरिक रूपमा तयार र त्यति नै मानसिक रूपमा बलियो पनि ।

लगातार दोस्रो पटक प्रतियोगितामा सहभागिता जनाउन लागेको एपीएफ यस पटक समूह बीमा छ । यस समूहमा एपीएफबाहेक थाइल्यान्डको कलेज अफ एसियन स्कलर, आयोजक उज्बेकिस्तानको पिएफसी नसाफ र साउदी अरबको अल नसार छन् । यस पटक टिमले गत वर्षका कमी कमजोरी सुधार गर्न राम्रो गृहकार्य गरेको छ ।

प्रतियोगिताको तयारीका लागि एपीएफले पुलिस र आर्मीसँग अभ्यास खेल समेत खेलेको थियो । पछिल्लो समय टोलीले एपीएफकै पुरूष खेलाडीसँग पनि अभ्यास खेल खेलिरहेको छ ।

एपीएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणका लागि तयार रहे पनि केही प्रमुख खेलाडीको अभाव भने टोलीलाई खड्किने छ । स्टार मिडफिल्डर पि्रति राई र स्ट्राइकर साबित्रा भन्डारी साम्बा दुबै खेलाडी एपीएफमा आवद्ध भए पनि प्रतियोगिताका लागि उपलब्ध हुने छैनन् । 

राष्ट्रिय टिमका अधिकांश खेलाडीसहित उज्वेकिस्तान प्रस्थान गर्न लागेको एपीएफले के मूल ड्रमा स्थान बनाउाला ? 


Image

फायेज होदा

फायज कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन्