काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक नबोलाएपछि १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्योलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली खेलकुदअघि नै राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भने पनि राखेपको बोर्ड बैठक नै बस्न नसकेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को १ सय २२ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद सार्ने निर्णय गरेको थियो ।
त्यसपछि वृहत राष्ट्रिय खेलकुद आयोजनामा अझैसम्म अन्योल छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली खेलकुद अघि राष्ट्रिय खेलकुद आयोजना गर्ने भने पनि बोर्डले प्रतियोगिताको मिति तोकेको छैन ।
दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि संघीय सरकार, कर्णाली प्रदेश सरकार साथै राष्ट्रिय खेलकुद परिषद्बीच समन्वय अभाव र राजनीतिक अपरिपक्वताको कारण एक वर्ष धकेलिइसकेको छ ।
तर राष्ट्रिय खेलकुद परिषद्का अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री चौधरीले परिषद्को बैठक समयमा नबोलाउँदा राष्ट्रिय खेलकुदबारे थप निर्णय हुन सकेको छैन ।
मन्त्रालयले गर्नुपर्ने काम अघि नबढाउँदा राष्ट्रिय खेलकुका लागि हुनुपर्ने काम नभएको खेलकुद परिषद्का पदाधिकारी बताउँछन् ।