काठमाडौं । युएफा महिला युरो कप २०२५ को उपाधि विजेता इंग्ल्यान्ड महिला फुटबल टोलीलाई स्वदेश फर्किएपछि भव्य स्वागत गरिएको छ ।
बासेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा दोस्रो पटक युरोपेली च्याम्पियन बनेको टोलीलाई साउथ एन्ड विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
इंग्ल्यान्डको महिला फुटबल टोलीले युरो २०२५ को उपाधि जित्दै उपाधि रक्षा गर्न सफल भएको थियो । आइतबार बासेलमा सम्पन्न फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै इंग्ल्यान्डले युरोपेली च्याम्पियन बनेको हो ।
हन्ना हृयाम्प्टनले दुई पेनाल्टी बचाएपछि क्लोए केलीले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएकी थिइन् । यो खेललाई बेलायतमा १६ मिलियनभन्दा बढी दर्शकले प्रत्यक्ष हेरेका थिए । जुन यसवर्ष टेलिभिजनमा सबैभन्दा धेरै हेरिएको क्षण बनेको थियो ।
कप्तान लिआ विलियमसन र प्रशिक्षक सरिना विगमन पहिलोपटक ट्रफीसहित विमानबाट ओर्लिएपछि सम्पूर्ण टोलीले प्रशंसकहरूसँग फोटो खिचाएका थिए । साँझ प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा आयोजित स्वागत कार्यक्रममा उपप्रधानमन्त्री एन्जेला रेयनरले टिमलाई स्वागत गरिन् ।
कार्यक्रममा बेलायती प्रधानमन्त्री किअर स्टार्मरले भिडियो कलमार्फत टोलीलाई बधाई दिएका थिए भने राजा चाल्र्स तृतीयले शाही परिवारको तर्फबाट शुभकामना व्यक्त गरेका थिए ।
यसैबीच सरकारले महिला तथा किशोरी फुटबल टोलीलाई खेल मैदानमा दोब्बर समय दिन नयाँ योजना सार्वजनिक गरेको छ ।