अस्ट्रेलियाद्वारा वेस्ट इन्डिजविरूद्ध सिरिजमा ह्वाइटवास

श्रावण १३, २०८२ |खेल ब्युरो
अस्ट्रेलियाद्वारा वेस्ट इन्डिजविरूद्ध सिरिजमा ह्वाइटवास

काठमाडौं । अस्ट्रेलियाले वेस्ट इन्डिजविरूद्धको भ्रमण सिरिज ह्वाइट वास गरेको छ । पाँचौं तथा अन्तिम टी-२० अन्तर्राष्ट्रिय खेलमा ३ विकेटको जित हात पार्दै अस्ट्रेलियाले टी-२० आई सिरिज ५-० ले क्लिन स्विप गरेको हो भने त्यस अघि खेलिएको ३ खेलको टेस्ट सिरिज पनि ३-० ले आफ्नो पक्षमा पारेको थियो ।

यो जितसँगै अस्ट्रेलिया पहिलो पटक टी-२० आईमा पाँच खेलको सिरिजका सबै खेल जित्न सफल भयो । टी-२० अन्तर्राष्ट्रिय इतिहासमा पाँच वा सोभन्दा बढी खेलको सिरिजमा सबै खेल जित्ने अस्ट्रेलिया दोस्रो टेस्ट टोली बनेको छ । यसअघि भारतले २०२० मा न्यूजिल्यान्डविरूद्ध पाँच खेलको सिरिज ५-० ले जितेको थियो ।

अहिलेसम्म यो उपलब्धि हासिल गर्ने टोलीहरूमा भारत, मलेसिया, केम्यान टापु, तान्जानिया, स्पेन र अस्ट्रेलिया रहेका छन् ।

अस्ट्रेलियाले सिरिजको पाँचौं खेलमा पनि टस जितेर वेस्ट इन्डिजलाई ब्याटिङका लागी अमन्त्रित गरेको थियो । पावरप्लेदेखि नै दबाबमा परेको घरेलु टोली वेस्ट इन्डिजले ३२ रनमै सुरुआती तीन विकेट गुमाएको थियो । 

त्यसपछि शिमरन हेटमायरले आक्रामक इनिङ्स खेल्दै ३१ बलमा ५२ रन जोडे । शेरफेन रदरफोर्डले १७ बलमा ३५ रन बनाए । तर, नियमित अन्तरालमा विकेट खसिरहँदा वेस्ट इन्डिज २० ओभरको चौथो बलमा १ सय ७० रनमा अलआउट भयो । अस्ट्रेलियाका बेन ड्वार्शुइस ३ विकेट लिए । नाथन इलिसको नममा २ विकेट रह्यो ।

१ सय ७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । कमजोर सुरूआत गरेको अस्ट्रेलियाका शीर्ष तीन ब्याटर मिचेल मार्श, ग्लेन म्याक्सवेल र जोश इङ्लिस केवल २५ रनमै पेभेलियन फर्किए । 

क्यामरून ग्रिनले ३० रन जोडे । टिम डेविडले १२ बलमा ४ छक्का र १ चौकासहित ३० रन जोड्दै खेलको रफ्तार परिवर्तन गरे । मिचेल ओवेनले १७ बलमा ३७ रन बनाउँदै आक्रमण जारी राखे । 

आरोन हार्डी २८ रनमा नटआउट रहे । घरेलु टोलीका लागी अकिल होसेनले ३ तथा जेसन होल्डर र अल्जारी जोसेफले समान २-२ विकेट लिए ।