बाँके । कुनै बेला तराई मधेशमा मात्र समिति रहेको कालाजार अहिले पहाडी र हिमाली क्षेत्रमा समेत देखिन थालेको छ । खासगरी रोजगारीका लागि भारत गएर फर्किनेहरूबाट कालाजार भित्रिने गरेको छ । जसका कारण पहाडी र हिमाली भेगका बासिन्दा प्रभावित हुँदै आएका छन् ।
त्यसमाथि उपचारका लागि अस्पताल जानुको साटो झारफुक र धामीझाँक्रीको पछि लाग्दा यसको संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्ने गरेको छ ।
बिरामी छोराको उपचार गराउादा ९० हजार ऋण लागेपछि श्रीमती अमृताका साथ दैलेखका उपेन्द्र सिंह रोजगारीका लागि भारतको नैनीताल पुग्नुभयो । त्यहाँ अति नै फोहोर ठाउँमा बस्नुपर्यो । लामखुट्टे र भुसुनाले टोकेर उपेन्द्रलाई उच्चज्वरो आउन थाल्यो, जिउ दुब्लाउँदै गयो, छालाको रङ फेरिएर कालो हुँदै गयो । खोकी लाग्न थाल्यो । कमजोर भएर काम गर्न नसक्ने भएपछि घर फर्किनुभयो । तर उपचारका लागि अस्पताल जानुको साटो झारफुकतिर लाग्नुभयो । देवीदेउताका नाममा ६ लाख खर्चेर २५ वटा त बोका नै चढाउनुभयो ।
जटिल अवस्थामा भेरी अस्पताल पुग्नुभएका सिंहको रोग परीक्षण गर्दा कालाजार भएको पाइयो । कलेजो र फियो पनि सुन्निएको थियो । बिरामी बुबाको उपचारमा लागेको ऋण तिर्न तीन छोरा कामको खोजीमा भारत गएका छन् । उपचारमा संलग्न चिकित्सक कर्णाली प्रदेशका उच्च हिमाली र पहाडी जिल्लाका कालाजारका बिरामी आउने गरेको बताउँछन् ।
नेपालमा सन् १९८६ देखि कालाजारका बिरामी फेला पार्न थालेका हुन् । अहिले भेरी अस्पतालले मात्र वर्षमा ४० देखि ५० जना कालाजारका बिरामी उपचारका लागि आउने गरेको प्रतिवेदन विश्व स्वास्थ्य संगठनलाई पठाउने गरेको छ । त्यस आधारमा डब्लूएचओले पनि पश्चिम नेपालमा कालाजारको प्रकोप र अवस्थाका बारेमा अध्ययन गरेको छ ।
स्यान्डफ्लाइ नामको भुसुनाले टोकेपछि मानिसमा कालाजार संक्रमण हुन्छ । तापक्रम बढदै जाँदा भुसुना उत्पन्न हुने वातावरण हिमाली क्षेत्रमा समेत बन्दै गएको हुनसक्ने चिकित्सकको आकलन छ । भुसुनाले टोकेको दुईदेखि ६ महिनामा लक्षण देखिने गर्छ । समयमै उपचार नभए मानिसको मृत्यु हुनसक्छ ।