एम्मा राडुकानु क्यानाडियन ओपनको दोस्रो चरणमा प्रवेश, रोमानियाकी एलेना-गाब्रिएला रूसे सोझो सेटमा पराजित

दोस्रो चरणमा अमेरिकाकी ३२औं वरियताकी पेयटन स्टेन्ससँग प्रतिस्पर्धा गर्ने
श्रावण १३, २०८२ |खेल ब्युरो
एम्मा राडुकानु क्यानाडियन ओपनको दोस्रो चरणमा प्रवेश, रोमानियाकी एलेना-गाब्रिएला रूसे सोझो सेटमा पराजित

काठमाडौं । ब्रिटिस नम्बर एक टेनिस खेलाडी एम्मा राडुकानु क्यानाडियन ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छन् । आफ्नो सानदार लयलाई उत्तर अमेरिकामा निरन्तरता दिँदै राडुकानुले पहिलो चरणमा रोमानियाकी एलेना-गाब्रिएला रूसेमाथि सहज जित हात पारेकी हुन् ।

२२ वर्षिया राडुकानुले ६-२, ६-४ को सोझो सेटमा जित निकाल्दै दोस्रो चरणमा स्थान बनाएकी हुन् । वासिङ्टन ओपनको सेमिफाइनलसम्म पुगेकी ब्रिटिस खेलाडीले दोस्रो चरणमा अमेरिकाकी ३२औं वरियताकी पेयटन स्टेन्र्ससँग प्रतिस्पर्धा गर्नेछिन् ।

राडुकानुले प्रारम्भिक चरणमा पाँच ब्रेक पोइन्ट बचाएकी थिइन् । पहिलो सेटमा पाँच गेम जित्दै उनले लय समाइन् भने दोस्रो सेटमा केही प्रतिस्पर्धात्मक देखिएपनि निर्णायक ब्रेक पोइन्ट जित्दै ५-४ को अग्रता लिइन् र त्यसपछि खेल आफ्नो पक्षमा टुंग्याइन् ।

२०२१ को युएस ओपन च्याम्पियन राडुकानु हाल पुनः हार्ड कोर्टमा आफ्नो लयमा फर्किएकी छन् । यसअघि जुलाईमा विम्बल्डनमा आर्यना साबालेन्कासँग पराजित भएकी राडुकानु पछिल्ला पाँच हार्ड कोर्ट खेलमध्ये चार जित्न सफल भएकी छन् ।

यदी उनले दोस्रो चरण पार गरिन् भने तेस्रो चरणमा विम्बल्डन २०२५ की उपविजेता तथा पाँचौं वरियताकी अमाण्डा एनेसिमोभासँग भिडन्त हुन सक्ने सम्भावना छ ।

तर अर्की ब्रिटिस खेलाडी केटी बोल्टर भने पहिलो चरणमै मेक्सिकोकी रेनेटा जराजुआसँग ६-१, ७-५ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन् ।