काठमाडौं । इङ्ल्यान्डले उपाधि रक्षा गरेको महिला युरो कप २०२५ मा समूह चरणदेखि फाइनलसम्म नाटकीय परिवर्तन देखियो । पुनरागमन, नयाँ पुस्ताको उदय, सब्सटिच्युटको प्रभाव, ऐतिहासिक जित र मैदान बाहिरको सन्देश युरो २०२५ का हाइलाइट्स हुन् ।
पटक पटक पछि परेको अवस्थामा पनि जित निकालेर कसरी इङ्ल्यान्डले तेस्रो उपाधिमाथि कब्जा जमायो र प्रशिक्षक सरिना विग्मनको अदम्य साहस कस्तो रह्यो, आज हामी यसैको चर्चा गर्दैछौं ।
स्वीट्जरल्यान्डको बासेलस्थित सेन्ट याकोब पार्क रंगशालामा भएको महिला युरो २०२५ को ऐतिहासिक फाइनलमा इंग्ल्यान्डले वर्ल्ड च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि रक्षा गरेको छ । यससँगै इंग्ल्यान्डले सन् १९६६ को पुरुष विश्वकप पहिलो पटक विदेशी भूमिमा अन्तर्राष्ट्रिय सफलता हात पार्न सफल भयो । युरोको उपाधि लगातार दोस्रो पटक जितेपछि इङ्ल्यान्डकी प्रशिक्षक सरिना विग्मनले भनिन्- म आफैं विश्वास गर्न सकिरहेको छैन ।
त्यसैले उनी टिमप्रति गौरवान्वित छिन् । सरिनाका लागि यो पाँचौं ठूलो फाइनल थियो जसमध्ये उनले तीन उपाधि जितेकी छन् । दुई फरक राष्ट्रसँग युरोपियन उपाधि जित्ने उनी पहिलो प्रशिक्षक पनि हुन् ।
यो यात्रामा इङ्ल्यान्डले धेरै संघर्ष पार गर्यो । समूह चरणमा फ्रान्ससँगको हार, क्वार्टरफाइनलमा स्विडेनविरुद्ध २-० ले पछि परेको अवस्थामा जित र सेमिफाइनलमा इटलीविरुद्ध अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै फाइनल यात्रा पूरा गर्नु यी सबैले टिमको अद्वितीय कमब्याक क्षमतालाई देखाउँछ ।
आइतबार राति, फाइनलको पहिलो हाफमा भने स्पेन स्पष्ट रूपमा हाबी भएको थियो । इङ्ल्यान्डको सुरुआती योजना असफल भएका बेला प्रशिक्षक सरिना विग्मनले खेलको रफ्तार फेर्ने निर्णय गरिन् । गोलरक्षक ह्याम्पटनको महत्त्वपूर्ण रक्षा क्षमता, फरवार्ड क्लोइ केलीको प्रभावशाली आगमन र एलिसिया रस्सोको निर्णायक गोलले खेललाई पुनः जीवन दियो ।
प्रतियोगिताभर इङ्ल्यान्डका सब्स्टिच्युटले पाँच गोल गरे र पाँच महत्त्वपूर्ण पास उपलब्ध गराए । यसले प्रशिक्षकको रणनीतिक परिवर्तनको क्षमता र खेलाडीको क्षमता, प्रतिभालाई उजागर गरेको छ ।
फाइनलमा इङ्ल्यान्डका लागि उत्कृष्ट खेलाडी बनिन् लरेन हेम्प । उनले दायाँबाट लगातार गोलका अवसर सिर्जना गरिन् । अर्की विंगर केलीले गोल सेटअप गरिन् र पेनाल्टीमा गोल पनि गरिन् । जेस कार्टरको पुनरागमनले पनि टिममा स्थिरता ल्यायो । अन्ततः पेनाल्टी सुटआउटमा इङ्ल्यान्डको विजयसँगै स्टेडियममा इङ्ल्यान्डको राष्ट्रिय गीत गुन्जियो ।
यता, स्पेन भने विश्वकप जितेपछि युरोमा पहिलो फाइनल खेलिरहेको थियो । १० खेलसम्म अपराजित स्पेन यस पटक पनि उपाधिको सशक्त दाबेदार थियो । तर, पहिलो हाफमा प्रशस्तै अवसर खेर फालेको मूल्य उसले चुकाउनुपर्यो ।
युरोमा युवा खेलाडी उदयले अर्को दशकका स्टार खेलाडीको प्रारम्भिक अनुमान प्रस्तुत गरेको छ । इङ्ल्यान्डकी १८ वर्षे मिशेल एग्यमाङ, स्पेनकी विकी लोपेज, जर्मनीकी अलारा, फ्रान्सकी नाओलिया त्राओरेजस्ता किशोरीहरू 'फिनिसरका रूपमा उदाए अनि निर्णायक साबित भए । स्पेनको टिमले विश्वकप जितपछिको अन्तर्राष्ट्रिय फुटबलमा पहिलो युरो फाइनल खेले पनि लुइस रुबियालेस घटनाक्रमपछि उनीहरूको सफलतालाई पूर्णरूपमा मनाउन पाएका थिएनन् ।
यो युरो केवल फुटबलको मैदानमा मात्र होइन, लैङ्गिक समानता, खेलाडी सम्मान र समावेशी संस्कृतिको सन्देश दिने एक ठूलो मञ्च बन्यो । स्पेनको लक्ष्य अब ब्राजिलमा हुने आगामी प्रतियोगितामा आफ्नो विश्वकप उपाधि जोगाउने हुनेछ । इङ्ल्यान्ड अब घर फर्कंदैछ ।
युरो विजेताका लागि लन्डनमा भव्य उत्सवको तयारी भइसकेको छ ।