काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय वर्ल्ड कप छनोट टेबल टेनिस च्याम्पियनसिप यही साउन १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ । विश्वकपमा छनोट हुने लक्ष्य राखेको नेपालका ८ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने छनोटमा दक्षिण एसियाका ५८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र नेपालको सहभागिता रहेको छ । भारतबाट १० साथै श्रीलंका, बंगलादेश, माल्दिभ्स तथा आयोजक नेपालबाट समान आठ-आठ खेलाडी सहभागी हुनेछन् ।
सहभागी खेलाडीमा महिला र पुरुषको संख्या बराबरी हुनेछ । नेपालबाट पुरुषतर्फ संयोग कपाली, रुविन महर्जन, राजिव चिकनबन्जार, गनन्जध दहालले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ मियाङ्का राई, इभाना थापा, नबिता श्रेष्ठ र योङ्गी पौडेलले प्रतिस्पधा गर्नेछन् ।
विश्व टिम टेबल टेनिस च्याम्पियनसिप इङ्ल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुनेछ । तर, घरेलु मैदानमा हुने छनोटमा दोस्रो भएमा नेपालले विश्व च्याम्पियनसिप खेल्न अवसर पनि पाउनेछ । तर, भारतको उडिसामा अक्टोबर ११ देखि १५ तारिखसम्म हुने एसियन टिम टेबलटेनिस च्याम्पियनसिपमा भारतीय खेलाडी शीर्ष १२ स्थानभित्र रहँदा दक्षिण एसियाली छनोटमा दोस्रो हुने राष्ट्रले पनि इङ्ल्यान्ड यात्रा गर्न पाउनेछ ।
प्रतियोगितामा राउन्ड रोबिन शैलीमा पुरुष र महिला टिमतर्फको प्रतिस्पर्धा हुनेछन् । विजेता टिमले सन् २०२६ मा आयोजना हुने वर्ल्ड टिम टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुने अवसर प्राप्त गर्नेछ । एशियन टेबल टेनिस युनियनको वार्षिक कार्यक्रमअनुसार अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा हुन लागेको छनोट नेपालमा आयोजना भएका प्रतियोगितामध्ये सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय इभेन्ट हो ।