काठमाडौं । संसदीय समितिले निर्माणाधीन त्रिवि क्रिकेट मैदानको स्थलगत अवलोकन गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुगेर निर्माणाधीन रंगशालाको स्थलगत अवलोकन गरेको हो ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सदस्यहरूले रंगशालाको अवलोकन गर्नुभयो । आइतबार बसेको समितिको बैठकले अवलोकन गर्ने निर्णय गरेको थियो ।
अहिले मैदान स्तरोन्नति, प्यारापिट, फ्लडलाइट बनाउने काम भइरहेको छ । समयमा काम नसकेपछि निर्माण कम्पनीलाई हर्जाना भराई काम भइरहेको छ । मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए ।