काठमाडौं । ईस्पोर्ट्स अन्तर्गतको पब्जी मोबाइल वर्ल्ड कप २०२५ शुक्रबार साउदी अरेबियामा सुरू हुँदैछ। आउँदो अगस्ट ३ तारिखसम्म साउदी अरेबियाको राजधानी रियादमा हुने ईस्पोर्ट्स विश्वकपमा नेपालको होरा इस्पोट्ससमेत सहभागी भएको छ।
प्रतियोगितामा कुल पाँच खेल खेल्नु पर्दा, तीन खेल इराङ्गल र बाँकी दुई खेल सनहुक र मिरामार म्याम्पसमा आयोजना हुनेछन्। यो प्रतियोगितामा विश्वभरका २४ उत्कृष्ट टोली रिजनल क्वालिफायरबाट छनोट भएका छन्। सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।
नेपालको होरा स्पोट्स समूह बीमा रहेको छ। करीब ४० करोड नेपाली रूपैयाँ भन्दा बढी पुरस्कार राशिसहितको यो प्रतियोगिता ब्याटल रोयल ढाँचामा सम्पन्न हुने आयोजक लेभल इन्फाइनाइटले जानकारी दिएको छ। सन् २०२३ मा न्यू ग्लोबल स्पोर्ट सम्मेलनमार्फत ग्यामर्स एट ईस्पोर्ट्स उत्सवलाई ईस्पोर्ट्स वर्ल्ड कपमा स्तरोन्नति गर्ने घोषणा गरिएको थियो।
त्यसपछि सन् २०२४ देखि यो वर्ल्ड कप आधिकारिक रूपमा सुरू गरिएको हो। पब्जी मोबाइल वर्ल्ड इनभाइटेशनलबाट सुरू भएको यो विश्वस्तरीय प्रतियोगिता सन् २०२२ देखि एकीकृत स्वरूपमा ग्यामर्स एट अन्तर्गत आयोजना हुँदै आएको छ।