त्यसकारण राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीको उच्च प्रदर्शनका लागि नयाँ प्रविधियुक्त हाइपर्फमेन्स सेन्टरदेखि स्पोर्टस साइन्स ल्याबसमेत निर्माण गरी विधिवत् सञ्चालनमा ल्याएको छ ।
नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने खेलाडीको प्रदर्शनलाई माथि उकास्न नेपालमै पहिलो पटक स्पोर्टस् साइन्स ल्याब र हाइपर्फमेन्स सेन्टरको निर्माण गरेको छ । परिषद्ले एक वर्षअघि डीपीआर तयार गरेर चार महिनाभित्रै सेन्टर र ल्याबको निर्माण निर्माण सक्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले असार २७ गते विधिवत रुपमा उद्घाटन गरेपछि सेन्टर अहिले सञ्चालनमा आएको छ ।
पछिल्लो समय हरेक अन्तर्राष्ट्रिय प्रतियोगितमा नेपाली खेलाडीले उच्च प्रदर्शन गर्दै आएका छन् । तर सेमिफाइनल तथा फाइनलमा चुक्ने गरेपछि परिषद्ले खेलाडीको प्रदर्शन माथि उकास्न नयाँ प्रविधियुक्त फिटनेस सेन्टर स्थापना गरेको हो ।खेलाडीले गरेको प्रशिक्षण र अभ्यासबाट कति क्षमता अभिवृद्धि भयो भन्ने कुराको मापन गर्न स्पोर्टस साइन्स ल्याबसमेत स्थापना गरिएको छ । यसले अबका ओलम्पिक, एसियन खेलकुद र दक्षिण एसियाली खेलकुदमा समेत नेपाली खेलाडीले स्वर्णसहित दोहोरो अङ्कमा पदक ल्याउने लक्ष्य राखेको राखेप सदस्य सचिव टङ्कलाल घिसिङ बताउनुहुन्छ ।
नेपाली खेलाडीले जुन रुपमा प्रशिक्षण पाइरहेका छन्, त्यसअनुरुप सफलता हासिल भइरहेकै छ । तर, नयाँ प्रविधियुक्त प्रशिक्षण पाइरहेका खेलाडीको दाँजोमा नेपाली खेलाडी बञ्चित भइरहेको अवस्था थियो । यसकारण पनि खेलाडी हरेक प्रतियोगितमा अन्तिम समयमा चुकिरहेका थिए । अब यो हाइपर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स ल्याबले केही हदसम्म त्यो अभाव पूर्ति गर्ने विश्वास भलिबल प्रशिक्षक जगदीश भट्टको छ ।यसअघि खेलाडीले अभ्याससँगै फिटनेस प्रशिक्षणका लागि निजी व्यायामशाला धाउनुपर्ने अवस्था थियो । अब हाइपर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स ल्याबले उनीहरूको खेलमा मात्र सुधार हुने छैन, उपाधि हातपार्न समेत ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ । हाइपर्फमेन्स सेन्टर र स्पोर्ट साइन्स ल्याव निर्माणका लागि राखेपले ३ करोड ५ लाख खर्चेको छ । सेन्टरमा उच्च प्रविधियुक्त ब्यायाम मेसिन राखिएको छ । यस्तै स्पोर्टस साइन्स ल्याबमा पनि अधुनिक मेसिनहरू खरिद गरिएको छ । यो दुवै संरचनाको निर्माणले खेल पदाधिकारीलाई खुशी बनाएको त छ नै, खेलाडीलाई समेत आफ्नो क्षमता अभिवृद्धिका लागि उत्तिकै हौस्याएको छ ।