विश्व एक्वेटिक्स च्याम्पियनसीपमा सहभागिता हुने नेपाली खेलाडी आज सिंगापुर जाँदै

चार खेलाडीले समान २-२ स्पर्धामा भाग लिने
श्रावण ९, २०८२ |खेल ब्युरो
विश्व एक्वेटिक्स च्याम्पियनसीपमा सहभागिता हुने नेपाली खेलाडी आज सिंगापुर जाँदै

काठमाडौं । सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसीपमा सहभागिता जनाउने नेपाली खेलाडी शुक्रबार त्यसतर्फ प्रस्थान गर्दै छन् ।

४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आज राति ११ बजे सिंगापुर प्रस्थान गर्ने लागेको हो । प्रतियोगितमा दुई पुरूष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । चारै खेलाडीले समान २-२ स्पर्धामा भाग लिने छन् ।

पुरूषमा इर्भिन श्रेष्ठले १ सय र २ सय मिटर फ्रिस्टायल तथा अजलकाजी ताम्राकारले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा ओलम्पियन डुवाना लामाले २ सय मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र १ सय मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।

व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य विकास शर्मा तथा प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पौडीका मुख्य प्रशिक्षक शंकर कार्की रहेका छन् । जुलाइ ११ देखि सुरु भइसकेको प्रतियोगिता अगष्ट ३ तारिखसम्म चल्ने छ । नेपालको खेल भने जुलाइ २७ तारिखदेखि मात्र सुरू हुने छ ।

टोलीलाई राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आज एक कार्यक्रमबीच बिदाइ गरे ।

मुख्य प्रशिक्षक कार्कीले प्रतियोगिताले २० औं एसियाली खेलकुदको तयारीमा पनि मद्दत पुग्ने बताउँदै खेलाडीले उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।