एन्फा यु-१६ युथ लगमा त्रिभुवन आर्मी क्लबको पुनरागमन जित

श्रावण ९, २०८२ |खेल ब्युरो
एन्फा यु-१६ युथ लगमा त्रिभुवन आर्मी क्लबको पुनरागमन जित

काठमाडौं । त्रिभुवन आर्मी क्लबले एन्फा यु-१६ युथ लगअन्तर्गत शुक्रवार सम्पन्न पहिलो खेलमा सातदोबाटो युथ क्लबविरुद्ध पुनरागमन जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा १ गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै आर्मीले ३-१ को जित दर्ता गरेको हो ।

आर्मीको जितमा निरज अधिकारी, युजल भण्डारी र सोहित वाइबाले गोल गरे । सातदोबाटोका लागि नवौं मिनेटमा मुक्सन राईले सुरुआती गोल गरेका थिए । २३औं मिनेटमा आर्मीका लागि निरजले बराबरी गोल गरे भने ३८औं मिनेटमा युजल र ५२औं मिनेटमा सोहितले गोल गर्दै आर्मीको जित सुनिश्चित गरे । यो जितसँगै आठ खेलमा ६ अङ्क जोडेको आर्मी ११औं स्थानमा उक्लिएको छ । लगातार आठ खेलमा हार बेहोरेको सातदोबाटो भने अंकविहीन छ ।

शुक्रबार नै सम्पन्न खेलमा मनाङ मर्स्याङ्दीले हिमालयन शेर्पालाई ४-२ ले पराजित गर्‍यो । मनाङको जितमा प्रकाश सिंहले दुई तथा रोहण थापामगर र सन्देश तामाङले एक-एक गोल गरे । हिमालयन शेर्पाका लागि जेनिल सुब्बा र संगे शेर्पाले गोल गरे ।

पहिलो हाफमा तीन गोल गरेको मनाङले दोस्रो हाफमा एक गोल थपेको थियो । यससँगै आठ खेलबाट १७ अंक जोडेको मनाङ तेस्रो स्थानमा उक्लिएको छ । हिमालयन शेर्पा १० अंकसहित आठौं स्थानमा छ ।

दिनको अन्तिम तथा तेस्रो खेलमा नेपाल पुलिस क्लबले श्रीभगवती क्लबविरुद्ध ३-० को सहज जित हात पार्‍यो । अपराजित पुलिसले प्रतियोगितामा सातौं जित हात पारेको हो । पुलिसका लागि दिप्सन पाण्डेले २ तथा समिर कुमारले १ गोल गरे । यससँगै लिग लिडर पुलिसले ८ खेलमा २२ अंक जोडेको छ । श्री भगवतीले ८ खेलमा ६ अंक जोडेको छ ।