काठमाडौं । 'एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड' पहिलोपटक काठमाडौं उपत्यकाबाहिर आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठित 'एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड' को २२औं संस्करण आगामी भदौ २९ गते पोखरामा गर्ने जानकारी दिएको हो ।
पहिलोपटक काठमाडौं उपत्यकाबाहिर आयोजना हुन लागेको अवार्ड कार्यक्रमलाई विशेष र भव्य बनाउने लक्ष्य राखिएको मञ्चका अध्यक्ष निरन्जन अधिकारीले जानकारी दिए । पोखरा भ्रमण वर्ष पनि भएकाले प्रायोजकसँगको सल्लाहमा कार्यक्रम पोखरामा सारिएको हो ।
२२औं संस्करणमा कुल १० विधामा अवार्ड प्रदान गरिनेछ । जसमा वर्ष खेलाडी अन्तर्गत पुरूष, महिला र युवा खेलाडी तथा उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड समावेश छन् ।
पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । यी विधामा पाँच-पाँच जनालाई मनोनयन गरिने छ । बाँकी पाँच विधाका विजेता प्रत्यक्षरूपमा घोषणा गरिनेछ ।
वर्ष खेलाडीअन्तर्गत पुरुष, महिला युवा तथा उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस विधाको विजेताले पल्सर मोटरसाइकल जित्ने छन् भने अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ दिइनेछ ।
यस्तै गोल्छा ग्रुपले मञ्चसँग पाँच वर्षे सम्झौता नवीकरण गरेको छ । सम्झौताअनुसार नगद र मोटरसाइकलसहित करिब ४० लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरिनेछ । जुन अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले बढी हो ।