भक्तपुर । भक्तपुरमा सञ्चालित पाँच वटा खानेपानी कम्पनीमा कोलिफार्म भेटिएपछि पानी बिक्री वितरणमा रोक लगाइएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकले वडा नं.३ झौखेलमा सञ्चालनमा रहेका पाँच वटा खानेपानी कम्पनीमाथि पानी बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ ।
नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको अध्यक्षतामा बसेको समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी उत्पादन कम्पनीलाई पानी बिक्री वितरण गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
गत सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकृष्ण श्रेष्ठसहितको अनुगमन टोलीले झौखेलमा सञ्चालित खानेपानी उत्पादन कम्पनीहरूमा आकस्मिक अनुगमन गरेको थियो । अनुगमन टोलीले एसएन टप वेभरेज प्रा.लि, भक्तपुर नेचुरल ड्रिङ्किङ्ग वाटर प्रा.लि, एक्वाराज पानी, ओके मिनरल वाटर प्रा.लि, झौखेल उच्च वेभरेज प्रा.लि जय छुमागणेश र कर्णाली मिनरल वाटर प्रा.लिका पानी उद्योगमा स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा भक्तपुर नेचुरल वाटर प्रा.लिबाहेकका पाँच वटा कम्पनीलाई पानी बिक्री वितरणमा रोक लगाएको हो । पाँच वटा कम्पनीले सोमबार भित्र ल्याब टेस्ट रिपोट नगरपालिकामा पेस गरेपछि नगरपालिकले पुन पानी परिक्षण गरेपछिमात्रै बिक्री खुल्ला गर्न सकिने उपप्रमुख बुढाथोकीले बताउनुभयो ।
अनुगमन टोलीले खानेपानीको उत्पादनमा धेरै समस्या देखिएको, खानेपानीको गुणस्तरमा कैफियत भेटिएको र पानीको शुद्धतामासमेत ध्यान नदिएको पाएपछि सोही दिन पानीको नमूना संकलन गरि ल्याबमा पठाएको थियो ।
ल्याबबाट आएको रिपोर्टमा ती कम्पनीले बिक्री गरिरहेको खानेपानीको शुद्धता नरहेको, पिउनका लागि योग्य नरहेको, मानवीय स्वास्थयमा असर पार्न सक्ने कोलिफार्मलगायतका तत्वहरू उच्च मात्रामा भेटिएपछि नगरपालिकामा उपप्रमुख बुढाथोकीको नेतृत्वमा बसेको बैठकले ती पानी कम्पनीलाई पानी बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
झौखेलमा उत्पादित खानेपानी भक्तपुर जिल्लामा मात्रै नभई काठमाडौं उपत्यकाभरी बिक्री वितरण हुने गरेको छ । तर यहीको पानीमा ल्याब परीक्षामा कैफियत देखिएपछि पानी बिक्री वितरण रोकिएको हो ।
स्थलगत अनुगमनको क्रममा टोलीले पानी जारहरूको गुणस्तरमा सुधार नभएको, कतिपय उद्योगले नगरपालिकामा दर्ता नगरेको र उत्पादन स्थल वरपर सर सफाईमा ध्यान नदिएको पाइए पछि टोलीले पानी जारहरूको गुणस्तरमा विशेष ध्यान दिन निर्देशन दिँदै सात दिनभित्र अनिवार्य रूपमा नगरपालिका दर्ता एवं नविकरणमा आउन निर्देशन दिएको छ ।