काठमाडौं । बिरूवा स्वच्छतामा काम गर्दे आएको अन्तर्राष्ट्रिय संस्था क्यावी इन्टरनेशनल र कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाबीचमा ६ वर्षे सम्झौता भएको छ ।
काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थाप केन्द्र प्रमुख भोजराज सापकोटा र क्यावी इन्टरनेशनलका क्षेत्रिय निर्देशक विनोद पण्डितले सम्झौतामा हस्ताक्षर गरेका हुन ।
सम्झौताअनुसार क्यावीले मूख्यगरी तीन क्षेत्रमा नेपाल सरकारलाई सघाउने छ । शत्रुजिवहरूको जोखिम विश्लेषण, बिरूवा स्वच्छतामा प्राविधिक सहयोग र हानिकारक विषादीको प्रयोगमा न्यूनीकरणका विषयमा कार्यक्रम गर्नेछ ।
नेपालबाट कृषिजन्य वस्तुको निर्यातमा समस्या भइरहेको बेला क्यावीसँगको साझेदारीले आउँदा दिनमा निर्यात व्यापारमा देखिएका समस्या न्यूनीकरण हुने सक्ने प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थाप केन्द्र प्रमुख भोजराज सापकोटा विश्वास व्यक्त गर्नुभयो ।
स्यानेटरी र फाइटोसेनेटरीका विषयलाई लिएर नेपालमा उत्पादित कृषिजन्य वस्तुको निर्यातमा समस्या भइरहेको छ । कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसी र मन्त्रालयका सचिव दिपक कुमार खरालले सम्झौताले बिरूवा स्वच्छता कायम गर्ने नेपालको प्रयासमा नयाँ आयाम थप्ने बताउनु भएको थियो ।
त्यस्तै सचिवले क्यावीको सदस्यता लिने विषयमा अर्थमन्त्रालयसँग पुन: परामर्श गर्न बताउनु भएको थियो । क्यावी इन्टरनेशनल बिरूवा स्वच्छता कायम गर्ने विषयमा काम गर्दे आएको अन्तर्राष्ट्रिय संस्था हो ।