युएफा महिला युरो कप: स्पेन र स्विट्जरल्यान्ड आमनेसामने हुँदै

२८ वर्ष यता पहिलो पटक युरो कपको सेमिफाइनलमा स्थान बनाउने स्पेनको लक्ष्य
श्रावण २, २०८२ |खेल ब्युरो
युएफा महिला युरो कप: स्पेन र स्विट्जरल्यान्ड आमनेसामने हुँदै

काठमाडौं । युएफा महिला युरो कप-२०२५ अन्तर्गत क्वार्टरफाइनल खेलमा शुक्रबार स्पेन र आयोजक राष्ट्र स्विट्जरल्यान्ड आमनेसामने हुँदै छन् । स्विट्जरल्यान्डको बर्नस्थित वान्कडोर्फ स्टेडियम खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरू हुनेछ ।

विश्वकप विजेता स्पेन समूह 'बी'मा अपराजित रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो भने घरेलु टोली स्विट्जरल्यान्ड समूह 'ए' काे उपविजेताका रूपमा अघि बढेको हो ।

पछिल्ला दुई वर्षमा महिला विश्वकप र नेशन्स लिग जितिसकेको स्पेन लगातार तेस्रो वर्ष ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्ने अभियानमा छ । समूह चरणमा उनले पुर्तगाल, बेल्जियम र इटालीलाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो ।

प्रशिक्षक मोन्त्से टोमेको टोलि सन् १९९७ यता पहिलो पटक युरो कपको सेमिफाइनलमा स्थान बनाउने लक्ष्य छ । युरोपेली च्याम्पियनसीपको नकआउट चरणमा पहिलो पटक स्थान बनाएको स्विट्जरल्यान्डले घरेलु दर्शकको समर्थनमा आश्चर्यजनक नतिजा निकाल्ने लक्ष्य राखेको छ ।

समूह चरणमा नर्वेसाग २-१ ले हारपनि आइसल्यान्डलाई २-० ले हराउँदै लय समातेको स्विस टोलीले अन्तिम खेलमा फिनल्यान्ड लाई पछि पार्दै क्वार्टरफाइनल यात्रा सुनिश्चित गरेको थियो ।

स्विट्जरल्यान्डविरूद्धको अघिल्ला चार खेलमा स्पेन अपराजित छ । स्पेन सोही नतिजा दोहोर्याउने लक्ष्यमा रहदाा घरेलु समर्थक माझ स्विट्जरल्यान्ड स्पेनलाई स्तब्ध पार्ने योजनामा हुनेछ ।