नेपाल र मलेसियाबीचको टी-२० सिरिजको फाइनल भिडन्त बुधबार, विजेता टिमले उपाधि कब्जा गर्ने

आश्विन २१, २०८२ |खेल ब्युरो
नेपाल र मलेसियाबीचको टी-२० सिरिजको फाइनल भिडन्त बुधबार, विजेता टिमले उपाधि कब्जा गर्ने

काठमाडौं । नेपाल र मलेसियाका राष्ट्रिय महिला क्रिकेट टिमबीचको पाँचौं तथा अन्तिम खेल भोलि अर्थात् बुधबार हुँदैछ । 

हाल सिरिज २-२ को रोमाञ्चक बराबरी अवस्थामा हुँदा यो खेल जित्ने टिमले सिरिज कब्जा गर्नेछ । क्वालालाम्पुरस्थित बायुमास ओभलमा खेल नेपाली समय अनुसार बिहान पौने ८ बजे सुरू हुनेछ । दुबै टोली जितसहित सिरिज आफ्नो बनाउने लक्ष्यमा हुने छन् ।

मंगलबार सम्पन्न चौथो टी-२० आईमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज जित्ने सम्भावना जोगाएको हो । चौथो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । 

नेपाली बलरले पावर प्लेमा नै तीन विकेट लिएर उत्कृष्ट सुरूवात गरेका थिए । अघिल्ला दुई खेलमा अर्धश्चतक प्रहार गरेकी एइना हामिजाह हासिम यस खेलमा डक आउट भएकी थिइन् । हालसम्म ४ खेलमा १ सय ३७ रन बनाईसकेकी हासिम सिरिजकै शीर्ष रनकर्ता हुन् । 

नेपालका लागि कविता कुँवरले ३ विकेट लिएसँगै उनी सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी बनेकी छन् । उनले ३ खेलमा ६ विकेट लिएकी छन् । जवाफमा नेपालले १७ ओभर तीन वलमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । रुविना क्षेत्री र कप्तान इन्दू बर्माले पाँचौ विकेटका लागि ६१ रनको साझेदारी गरेपछि नेपालले सिरिजमा पुनरागमन गरेको हो । 

इन्दू ३९ बलमा ४८ र रुविना २३ वलमा २३ रन बनाउँदै अविजीत रहे । यसै खेलमा १ हजार टी-२० आई रन पुरा गर्ने ब्याटर बनेकी इन्दूले यस सिरिजमा १ सय ९ रन बनाएकी छन् । उनी शीर्ष रनकर्ताको सूचीमा तेस्रो स्थानमा छन् । तर यस सिरिजमा नेपालका कुनै पनि ब्याटरले अर्धशतक प्रहार गर्न सकेका छेनन् । 

निर्णायक खेलमा नेपाललाई सिरिज दिलाउन कुनै दुई नेपाली ब्याटरले लामो इनिङ्स खेल्नु आवस्यक देखिन्छ । पहिलो र तेस्रो खेलमा पराजित नेपालले दोस्रो र चौंथो खेलमा जित हात पार्दै पुनरागमन गरेको थियो । नेपाल यसै लयलाई निरन्तरता दिँदै सिरिज आफ्नो बनाउने लक्ष्यमा हुने छ ।