काठमाडौं । जेन-जी आन्दोलनपछि नेपाली कांग्रेसका नेतृत्व हस्तान्तरणको बहस चुलिएको छ ।
सभापति शेरबहादुर देउवालाई तत्काल नेतृत्वबाट अवकाश दिन विशेष महाधिवेशनको माग गर्दै अहिले हस्ताक्षर अभियान चलेको छ । जबकी कांग्रेसको नियमित महाधिवेशन नै आगामी मंसिरमा हुनुपर्ने छ । तर नियमित महाधिवेशनको तयारी गर्नुभन्दा विशेष महाधिवेशन गराउँदा कांग्रेसभित्रका जेन-जी नेताहरू पार्टी रूपान्तरणको प्रक्रियाबाट बञ्चित हुने देखिएको छ ।
भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि नेपाली कांग्रेसमा विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान चलिरहेको छ । असोज २६ गतेको केन्द्रीय समितिको बैठक बस्नु अगावै ४० प्रतिशत हस्ताक्षर बुझाउने तयारी छ ।
हस्ताक्षर अभियानको नेतृत्व नेता शेखर कोइराला निकट गुरू घिमिरेले गर्नुभएको छ । यो अभियानमा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको समर्थन छ । जेन-जी आन्दोलनपछिको परिवर्तित राजनीतिमा पनि सभापतिले नियमित महाधिवेशन गर्ने छाँट नदेखाएकाले विशेष महाधिवेशनको माग कांग्रेसमा उठेको हो ।
नेपाली कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । विधानको त्यही व्यवस्थामा टेकेर नेता कोइराला, महामन्त्रीद्वय थापा र शर्माले पार्टी नेतृत्व परिवर्तन गर्न खोजेका हुन् । तर विशेष महाधिवेशन गरेमा अहिलेको समस्या समाधान नहुने आवाज बलियो छ ।
विशेष महाधिवेशन गर्दा पुरानै महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्ने भएकाले पार्टी रूपान्तरण नहुने तर्क केही नेताको छ । विशेष महाधिवेशनले पार्टीमा सहभागी हुन चाहने युवालाई रोक्ने मात्रै होइन, जेन-जी आन्दोलनको मर्मविपरित हुने भएकाले नियमित महाधिवेशन नै गर्नुपर्ने माग उनीहरूको छ ।
कांग्रेस विधानले केन्द्रीय कार्यसमितिको कार्यकाल ४ वर्षको हुने भनेको छ । त्यो हिसावले अहिलेको कार्यसमितिको कार्यकाल आगामी मंसिरमा सकिँदैछ । तर विधानले विशेष परिस्थितिमा १ वर्ष थप्न सक्ने सुविधा दिएको छ । तर पछिल्लो समय बदलिएको परिस्थितिले केन्द्रीय कार्यसमिति बैठकमा नै देउवाले उपसभापतिलाई कार्यवाहकको जिम्मेवारी दिन सक्ने सम्भावना भएको केही नेताको दाबी छ ।
कांग्रेसमा भावी नेतृत्वका आकांक्षी एक दर्जनभन्दा बढी नेता छन् । विशेष महाधिवेशन गरेर नेतृत्व अर्को व्यक्तिमा जाँदैमा पार्टी रुपान्तरण हुन्छ कि हुँदैन भन्ने प्रश्न पार्टीभित्रकै जेन-जीको छ । देउवा निकट नेताहरू विशेष महाधिवेशन टार्न खोजिरहेका छन् भने महामन्त्रीहरू पनि नियमित महाधिवेशन गराउने आफ्नो जिम्मेवारी बिर्सिएर राजनीतिक मुद्दा स्थापना गर्न मात्र विशेष महाधिवेशनको रटान लगाइरहेका छन् ।
तर उनीहरूले पार्टीभित्रका जेन-जीलाई विशेष महाधिवेशनमा कसरी सहभागी गराउने भन्ने स्पष्ट पार्न सकेका छैनन् । कथंकदाचित विशेष महाधिवेशन हुने भयो भने कांग्रेसले नेतृत्व मात्र फेर्छ कि जेन-जीको भावनासमेत समेटिन्छ त्यो स्पष्ट पार्न सक्नुपर्छ ।