इजरायल-हमास युद्धको आज दुई वर्ष पूरा, कहिले हाेला युद्धकाे अन्त्य ?

आश्विन २१, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायल-हमास युद्धको आज दुई वर्ष पूरा, कहिले हाेला युद्धकाे अन्त्य ?

काठमाडौं । इजरायल-हमास युद्धको आज दुई वर्ष पूरा भएको छ । 

सन् २०२३ को अक्टोबर ७ का दिन हमासले आकस्मिक रूपमा इजरायलमा आक्रमण गरेसँगै सुरू भएको युद्ध जारी छ भने युद्धविरामको पहलस्वरूप इजिप्टमा दुबै पक्षबीच अनौपचारिक संवाद पनि भइरहेको छ ।

हमासले इजरायलमाथि आक्रमणका क्रममा २ सय ५० भन्दा बढीलाई बन्धक बनाएपछि इजरायल प्रत्याक्रमणमा उत्रिएको थियो । त्यसक्रममा गाजामा ६७ हजारभन्दा प्यालेस्टिनी मारिइसकेका छन् भने १ लाख ६९ हजार ७ सय ८० जना घाइते भएका छन् । मारिनेमा २० हजार १ सय ७९ जना बालबालिका छन् ।

यो युद्धमा १७ सय १ स्वास्थ्यकर्मी मारिएका छन् भने गाजाका ३८ मध्ये २५ अस्पताल बन्द भएका छन् । यस्तै इजरायली आक्रमणमा गाजाका ८० प्रतिशत संरचना नष्ट भएका छन् । ९२ प्रतिशत विद्यालय भवन पनि क्षतिग्रस्त भएका छन् । हमासले बन्धक बनाएकामध्ये नेपाली विद्यार्थी विपीन जोशीसहित ४८ जना अझै उनीहरूको नियन्त्रणमा रहेको र तीमध्ये २० जनामात्र जीवित रहेको अनुमान गरिएको छ ।

यसैबीच, आक्रमण दुई वर्ष पूरा भएको दिन हमासले विज्ञप्ति जारी गर्दै लज्जास्पद अन्तर्राष्ट्रिय मौनता र अरब मुलुकहरूको असफलताका कारण गाजामा यो अवस्था आएको टिप्पणी गरेको छ। यसैबीच अमेरिकी शान्ति योजनाअन्तर्गत इजरायल र हमासबीच इजिप्टको शर्म एल शेखमा सोमबार अनौपचारिक वार्ता भएको छ । 

इजिप्ट, कतार तथा अमेरिकाको मध्यस्थतामा चार घण्टासम्म वार्ता भएको हो । वार्ता मंगलबार पनि जारी रहने जनाइएको छ । २ वर्ष लामो युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले प्रस्ताव गरेको २० बुँदे शान्ति योजनामा हमासको निशस्त्रीकरण, मृत तथा जीवित सबै इजरायली बन्धकको रिहाइ तथा गाजाबाट सबै इजरायली सेना फिर्तिको विषय समावेश छन् । तर, हमासले बन्धक रिहाइको विषयमा सहमति जनाए पनि सबै प्रस्ताव स्वीकार गरिसकेको छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै पक्षलाई चाँडो सहमतिमा पुग्न दबाब दिइरहनुभएको छ ।