राजविराज। राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्स सप्तरीको राजविराजमा जारी सातौँ सिजनको सप्तरी प्राइड लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लिगमा सोमबार पाँचौ दिनको खेल सम्पन्न भएसँगै समूह 'ए'बाट राजविराज र समूह 'बी'बाट डिफेन्डिङ च्याम्पियन तिरहुट अन्तिम चारमा प्रवेश गरेका हुन् ।
वर्षाका कारण राजविराज र राजगढ वारियर्सबीचको पहिलो खेल नतिजाविहीन बनेको थियो । यससँगै राजविराज र राजगढले १-१ अंक बाँडेका हुन् । पबी स्कुल मैदानमा पहिले ब्याटिङ गरेको राजबिराजले १४ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै एक सय ५० रन बनाएको थियो ।
त्यसपछि लगातार वर्षा हुँदा खेल नतिजाविहीन भएको हो । राजदेवी रोयल्सको लागि ओपनर रोहन बिकले सर्वाधिक ५१ रन बनाए । वारियर्सको बलिङमा रोशन यादवले सर्वाधिक ३ विकेट लिए ।
दोस्रो खेलमा तिरहुट टाइगर्सले रूपनी राइडर्सलाई १० विकेटले पराजित गरेको छ । वर्षाका कारण १२ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ गरेको रूपनी राइडर्सले नौ दशमलव ४ ओभरमा ५८ रन मात्र बनायो ।
तिरहुटका बलर चित्रबहादुर बिस्टले ५ विकेट लिँदै राइडर्सलाई सस्तोमै समेटे । ५९ रनको सामान्य लक्ष्य तिरहुट टाइगर्सले विकेट नगुमाई भेट्टायो । टाइगर्सका ओपनर अविनाश कर्णले अविजित ३९ रन बनाए ।
हिजोको खेलपछि समूह 'ए'मा ३ खेलमा ५ अंकसहित राजविराज राजदेवी रोयल शीर्ष स्थानमा छ । समूह 'बी'अन्तर्गत तिरहुट टाइगर्स ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ ।